तपाईँ सुन्दै हुनुहुन्छः

झापामा १५७ उम्मेदवारको धरौटी जफत

भद्रपुर, झापा । झापामा १४ महिलासहित १५७ जना उम्मेदवारको धरौटी रकम जफत भएको छ । प्रतिनिधिसभा सदस्यतर्फ ७९ र प्रदेशसभा सदस्यतर्फ ७८ जना उम्मेदवारको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेमप्रसाद न्यौपाने जानकारी दिनुभयो ।

यसबाट जिल्लामा १० लाख ३० हजार रुपैयाँ राजश्व जम्मा भएको छ । 

प्रतिनिधिसभातर्फ झापा क्षेत्र नं १ मा १२, क्षेत्र नं २ मा १४, क्षेत्र नं ३ मा १६, क्षेत्र नं ४ मा १५ र क्षेत्र नं ५ मा २२ जना उम्मेदवारको धरौटी जफत भएको छ । त्यस्तै प्रदेशसभातर्फ झापा १ (१) मा ४ जना, (२) मा ८ जना, झापा २ (१) र (२) मा ८–८ जना, झापा ३ (१) मा ६ जना, (२) मा ९ जना, झापा ४ (१) मा ८ जना, (२) मा ९ जना र झापा ५ (१) मा ८ जना र (२) मा १० को जमाना जफत भएको सूचना अधिकारी न्यौपानेले बताउनु भयो । 

झापाको ५ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यतर्फ ९४ र प्रदेशसभा सदस्यतर्फ ९८ गरी  १९२ जना चुनावी प्रतिस्पर्धामा थिए । जिल्लामा ६ लाख ६३ हजार ३ सय ११ जना मतदाता रहेकोमा ४ लाख ४६ हजार २ सय ५५ मत खसेको थियो । 

धरौटी रकम जोगाउन उम्मेदवारहरूले आफ्नो क्षेत्रमा खसेको कुल मतमध्ये सदर मतमा १० प्रतिशत मत ल्याउनुपर्ने कानूनी प्रावधान छ । १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी जफत भएको न्यौपानेले बताउनु भयो । 

प्रतिनिधिसभा सदस्यतर्फ १० हजार र प्रदेशसभा सदस्यतर्फ ५ हजार उम्मेदवारी दर्ता शुल्क तोकिएको थियो । महिला, दलित, अल्पसङ्ख्यकको हकमा भने दर्ता शुल्कमा ५० प्रतिशत छुट दिइएको थियो । 

झापामा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक अन्य साना दलका उम्मेदवारले धरौटी रकम जोगाउन सकेनन् । स्वतन्त्रतर्फ झापा–२ का प्रतिनिधिसभा सदस्य भद्रप्रसाद नेपालले मात्र धरौटी रकम जोगाएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button