तपाईँ सुन्दै हुनुहुन्छः

तीन वर्षदेखि थन्किएका बिजुली बस आजदेखि सञ्चालनमा

रुपन्देही। लामो समयदेखि लुम्बिनीमा थन्किएका बिजुली बस आजदेखि सञ्चालनमा आएका छन् । दशैको अवसर पारेर लुम्बिनी विकास कोषले आजदेखि विद्युतीय गाडीको अफिसियल यान्त्रिक परीक्षणस्वरुप सञ्चालनमा ल्याएको हो ।

विद्युतीय बसहरू औपचारिकरुपमा शुभारम्भ गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष अबधेश कुमार त्रिपाठीले ५ वटा बसहरू लुम्बिनीबाट सञ्चालन भएको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले परीक्षणका लागी यात्रुहरूलाई निःशुल्क सेवा दिइएको बताउनु भयो । स्थानीय प्रशासन, सुरक्षा निकायको पूर्ण सहयोग हुने बताउनुभयो । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराज शाक्यले अब नरोकिने गरि निरन्तर बस सञ्चालन हुने बताउनुभयो ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईको अध्यक्षता भएको कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुँदै भट्टराईले सरकारी कार्यालय धेरै प्रक्रियाका कारण ढिलाइ भएपनि अब बसमा सबै व्यवस्थापन हुँदै जाने बताउनुभयो ।

विद्युतीय बस लुम्बिनी एयरपोर्ट बेलहिया हुँदै रामग्राम, लुम्बिनी एयरपोर्ट हुँदै बुटवल गोलपार्क, लुम्बिनीबाट तिलौराकोट साइट परिक्रमा, लुम्बिनी वरिपरि सटल बस, लुम्बिनीबाट एयरपोर्ट बेलहिया मणिग्राम हुँदै देवदह रूटमा गाडी चल्नेछन् ।

जिल्ला ट्राफिक कार्यालय रुपन्देहीका प्रमुख केशव केसीले ५ वटा बसले ६ रुट पुरा गर्ने बताउनुभयो । केसीका अनुसार रुट नं १ लुम्बिनीबाट एयर पोट, बेलहिया हुँदै रामग्रामसम्म, रुट नं २ लुम्बिनीबाट भैरहवा बुद्ध चोक हुँदै बुटवल एभिन्यु होटेलसम्म रुट नं ३ लुम्बिनी तिलौराकोट हुँदै लुम्बिनी फर्कने , रुट नं ४ लुम्बिनी सटल बस, रुट नं ५ लुम्बिनी एयरपोर्ट हुँदै बेलहिया पर्यटक प्रहरीसम्म, रुट नं ६ लुम्बिनीबाट एयरपोर्ट बेलहिया हुँदै देबदहसम्म रहेको छ ।

बिगत ३ वर्षदेखि थन्किएका बसहरू गृहमन्त्री बालकृष्ण खाँडले पर्यटन दिवसका अवसरमा मङ्गलवार औपचारिक कार्यक्रममा लुम्बिनी विकास कोषलाई बस सञ्चालन गर्ने वा नगर्न भन्दै ठाडो निर्देशन दिनुभएको थियो ।

सञ्चालनको मोडालिटी तय गर्न नसक्दा यी बिजुली गाडी विगत थन्किरहेका थिए । बस खरिद हुनुभन्दा अगाडिदेखि नै लुम्बिनी विकास कोषले यसको सञ्चालनको मोडालिटी बनाउन निजी क्षेत्रका यातायात व्यवसायीलाई समेत बोलाएर छलफल गरेको थियो ।

दसैँको अवसर पारेर तत्कालका लागि बस सञ्चालन गर्ने तयारी गरिए पनि लुम्बिनी विकास कोषले बस सञ्चालनका लागि दीर्घकालीन कार्यविधि भने अझै टुङ्ग्याएको छैन ।
आगामी दिनमा विभिन्न मोडालिटि बनाउँदै हरियो प्लेटमा रूपान्तरण गरी कार्यविधि बनाएर कोषले पर्यटक बससमेत चलाउने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button