तपाईँ सुन्दै हुनुहुन्छः

द्वन्द्वले मुलुक र जनताको हित गर्न सक्दैन : गृहमन्त्री खाण 

भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले नेपालले बेला बेलामा ठुलो द्वन्द्व व्यहोर्नु परेको बताउनुहुँदै कुनै पनि द्वन्द्वले मुलुक र जनताको हित गर्न नसक्ने बताउनुभएको छ । 

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डीस्थित श्री शिव मन्दिर धर्मशालाको आज उद्घाटन गर्नुहुँदै गृहमन्त्री खाणले नेपाल बहुभाषिक, बहुसाँस्कृतिक, बहुजातीय मुलुक भएकाले ठुलो सङ्ख्यामा रहेका हिन्दुले अन्य सम्प्रदायलाई पनि सम्मान गर्नुपर्ने बताउनुभयो । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका गृहमन्त्री खाणले भन्नुभयो, “रुपन्देहीको विकासले रुपन्देहीको नागरिक तथा उद्योगी व्यवसायीलाई मात्र होइन, समग्र नेपालीलाई प्रतिफल दिन्छ, त्यसैले रुपन्देहीको विकासका लागि सम्पूर्ण शक्ति लगाउनुपर्छ ।”

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको र अन्य एयरलाइन्सलाई यहाँ ल्याउनका लागि प्रयत्न गरिरहेको उहाँले बताउनुभयो । 

उद्योगी व्यवसायीको सुरक्षा गर्ने दायित्व सरकारको भएकाले देशभरिका उद्योगी व्यवसायीको सुरक्षामा गम्भीरताका साथ लाग्न उहाँले सुरक्षा निकायलाई निर्देशन दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button