तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा पहिरोमा परी ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार   

अछाम । बाढी र पहिरोमा परी २३ जनाको ज्यान जाने गरी भएको घटनाका कारण अछाम शोकमग्न भएको छ । 

शुक्रबार रातीको अविरल वर्षका कारण अछामका विभिन्न ठाउँमा बाढी र पहिरोमा परी एक जना गर्भवती महिला, १७ बालबालिकासहित २३ जनाको ज्यान गएको थियो । 

परिवार पुरै सखाप हुने गरी भएको घटनाका कारण अछाम शोकमग्न भएको हो । 

पहिरोमा परी मृत्यु भएकाको जिल्ला अस्पतालको चिकित्सक सहितको टोलीले सम्बन्धित ठाउँमा नै पोष्टमार्टम गरिदिएपछि उनीहरूको आज सामूहिक दाहसंस्कार गरिएको अछाम प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले बताउनुभयो 

जिल्लाको कमलबजार नगरपालिका ६ विपथमा ७ जना, बडा नम्बर ८ ढाँकुमा ५ जना, तुर्माखाँद ५ नाडामा ९ जना र ढकारी ६ ढुंगाचाल्ना र वडा नम्बर १ रिमामा एक/ एक जना गरी २३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । 

कमलबजार ६ विरपथकी २० बर्षीया धना जनाला ६ महिनाकी गर्भवती रहेकी र पेट काटेर छोरा गर्भमा रहेको पाइएको पनि प्रहरीले जानकारी दिएको छ  ।

मानवीय क्षति नै ठुलो भएको र भौतिक क्षति समेत ठुलो नै भएको त्यसको विवरण सङ्कलन कार्य जारी रहेको डिएसपी डाँगीको भनाई छ । 

स्थानीय तहले जथाभाबी सडक निर्माण गर्ने गरेका कारण अछाम जिल्ला नै पहिरोको जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पहिरो गएका सबै ठाउँमा सडकको कारण प्रमुख रहेको पाइएको छ । गत साउन ८ गते राती तुर्माखाँद २ भुलुमा पहिरो गई तीन जनाको मृत्युको कारण पनि घर माथिको सडक रहेको जनाइएको छ  । 

बिना तयारी अध्ययन बिना नै डोजरले बाटो खन्ने क्रम बढ्दो छ । पहिरो गएका आसपासका र अन्य संवेदनशील क्षेत्रमा अझै जोखिम कायमै रहेको प्रशासनले जनाएको छ । 

पहिरो प्रभावितलाई नेपाल रेडक्रस सोसाइटी लगायतले राहत दिन समेत थालेका छन् । सडक अवरुद्ध भएका कारण घटनास्थलसम्म जान समेत समस्या रहेको नेपाल रेडक्रस सोसाइटी अछाम शाखाका सभापति रत्नप्रसाद ढुङ्गानाले बताउनुभयो ।

पहिरोमा परी घाइते ११ जना मध्ये तीन जनाको सुर्खेत र बाँकीको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button