तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजका ग्रामीण इलाकालाई पक्की सडक सञ्जालमा जोडने अभियान शुरु : वनमन्त्री यादव

वीरगंज । वन तथा वातावरण मन्त्री प्रदीप यादवले वीरगंज महानगरको ग्रामीण इलाकालाई पक्की सडक सञ्जालमा जोडने अभियान शुरु भएको बताउनु भएको छ । 

पर्साको निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर २० हरपतगन्जको ड्राइपोर्ट सडक देखि मनियारी, भवानीपुर, जगरनाथपुरको ड्राइपोर्ट तथा इटियाही हुँदै गण्डक नहरबाट मुख्य राजमार्गमा जोडन निर्माण गर्न लागिएको करिब साढे ६ किलो मिटर कालोपत्रे सडकको आज एक कार्यक्रमका बीच शिलान्यास गर्दै मन्त्री यादवले सडक सञ्जालले विकासको ढोका खोल्ने बताउनु भयो । 

वन तथा वातावरण मन्त्री यादवले वर्षौँको पर्खाइ पश्चात् यस क्षेत्रका जनता सडक सञ्जालसँग जोडिन लागेको बताउनु हुँदै सडक निर्माणले महानगरका ग्रामीण वडाको समृद्धिमा ठूलो टेवा पुग्ने र यहाँका कृषकहरूको उत्पादनले पनि सहज रूपले बजार पाउने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले सडक निर्माणको काम निर्धारित समय भित्रै सम्पन्न गर्न सडक डिभिजन कार्यालय र ठेकदार कम्पनीलाई निर्देशन पनि दिनुभयो । 

कार्यक्रममा वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले महानगरका ग्रामीण वडाहरूको योजनाबद्ध विकासका लागि  केन्द्र, प्रदेश  सरकारले सहयोग उपलब्ध गराउनु पर्ने कुरामा जोड दिनुभयो । 

सो सडक निर्माणको ठेक्का हिम सगरमाथा समा जेभी वीरगन्जले २० करोड ५७ लाख २१ हजार रुपैयाँको लागतमा लिएको छ । सडक निर्माणको कार्य २०८१ साल पुस मसान्त भित्र सक्नु पर्ने ठेक्का सम्झौतामा उल्लेख गरिएको छ । 

सडक शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य करिमा बेगम, जन्नत अन्सारी, लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button