तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वाधारको विकासबाट मात्रै मुलुकमा आर्थिक समृद्धि सम्भव : प्रधानमन्त्री देउवा

रुपन्देही । प्रधानमन्त्री शेरबहादुर देउवाले आधुनिक पूर्वाधारको विकासबाट मात्रै मुलुकमा आर्थिक समृद्धि सम्भव भएको बताउनुभएको छ ।

शनिबार बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले अव्यवस्थित शहरीकरणले बढाएको समस्यालाई ध्यानमा राखेर दीर्घकालीन योजना बनाउन आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले कुनै राजनीतिक विषयमा प्रवेश नै नगरी शहरीकरणको व्यवस्थापन, दीर्घकालीन योजनाले पार्ने प्रभाव र बनेका योजना पूर्ण गतिमा सञ्चालन गर्नुपर्ने विषयमा धारणा राख्नुभएको थियो । ‘यसअघिका अव्यवस्थित शहरले अहिले धेरै खर्च बढाएको छ, समस्या थपेको छ अब त्यसलाई हटाएर दीर्घकालीन योजना बनाउनुपर्दछ’ प्रधानमन्त्री देउवाले भन्नुभयो ।

संघीय शासन प्रणाली भएसँगै यसलाई दिगो बनाउन शहरीकरणमा निश्चित मापदण्ड बनाएर अगाडि जानुपर्ने शहरी पूर्वाधारलाई व्यवस्थित बनाउनुपर्ने अबको योजना रहेको र प्रदेश र स्थानीय सरकारले पनि यसलाई अङ्गीकार गरेर अगाडि जानुपर्ने देउवाले बताउनुभयो । ‘अब यसलाई मुख्य बजार र तराईमा मात्रै होइन, पहाडी तथा हिमाली क्षेत्रमा पनि योजना बनाएर जानुपर्ने भएको छ, एकपटक खर्च गरिएका स्थानमा यसरी योजना बनाएर लगानी गर्दा पुनः खर्च गर्नुपर्दैन’ उहाँले भन्नुभयो । 

बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले यहाँको दीर्घकालीन विकासमा सहयोग पुर्‍याउने उहाँको भनाइ छ । ‘यसको सञ्चालनबाट यहाँको आर्थिक वृद्धिबाट लाभ उठाउन आग्रह छ, सञ्चालनबाट लाभ उठाउन नसके अर्को स्थानमा लगानी गर्न समस्या हुन्छ, यसका लागि यहाँका सबै क्षेत्रले ध्यान पुराउनुहोला, यो मेरो आग्रह हो ।’ प्रधानमन्त्री देउवाले भन्नुभयो ।

बुटवललाई आधुनिक शहरको रुपमा निरन्तरता दिन सम्मेलन केन्द्रले महत्त्वपूर्ण भूमिका निभाउने, पर्यटन विकासबाट आर्थिक विकासमा टेवा पुराउने, आधुनिक पूर्वाधारले यहाँको गरिमा बढाएकाले निजी क्षेत्रले समेत यसको सञ्चालनका लागि ध्यान पुर्‍याउनुपर्ने देउवाको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button