तपाईँ सुन्दै हुनुहुन्छः

सूचना प्रविधिको माध्यमबाट सहज सेवा उपलब्ध गराउनु मन्त्रालयको पहिलो प्राथमिकता : मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले समृद्ध मुलुक निर्माणका लागि मन्त्रालयले सूचना प्रविधिको अधिकतम प्रयोगबाट जनतालाई सहज सेवा उपलब्ध गराउन पहिलो प्राथमिकताका साथ काम गरिरहेको बताउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित मन्त्रालय र सम्बद्ध निकायहरूबाट गत आर्थिक वर्षमा सम्पादन भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्नुहुँदै सञ्चारमन्त्री कार्कीले मुलुकमा इन्टरनेट पहुँचको विस्तारलाई तीव्रता दिइएको, रेडियो नेपालको पहुँच ९१ प्रतिशत जनसङ्ख्यामा पुर्‍याइएको, नेपाल टेलिभिजनको पहुँच ७२ प्रतिशत जनसङ्ख्यामा पुर्‍याइनुका साथै नागरिक एपको माध्यमबाट मन्त्रालय र अन्तर्गतका निकायले जनतालाई सहज र छिटो छरितो सेवा प्रदान गर्दै आएको बताउनुभयो ।

सञ्चारमन्त्री कार्कीले इ–पेमेन्टलाई महालेखा नियन्त्रकको कार्यालयको एफइटी प्रणालीसँग आबद्ध गरिएको, सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सेवाहरू पूर्णरुपमा अनलाइन मार्फत प्रवाह हुने व्यवस्था गरिएको, कोरोनाले थला पारेको चलचित्र क्षेत्रलाई चलायमान बनाउन चलचित्र सहयोग तथा प्रोत्साहन गर्ने कार्यविधि स्वीकृत गरी सहयोग प्रदान गरिएको बताउनुभयो ।

सञ्चारमन्त्री कार्कीले देशभित्र नै सुरक्षित मुद्रण कार्य आरम्भ गर्न आवश्यक यन्त्र उपकरण तथा सफ्टवेयर सहितको मेसिन खरिद गरी जडान गरिसकिएको, हुलाक सेवालाई प्रभावकारी बनाउन ई–कमर्श सेवाको सम्भाव्यता अध्ययनको प्रारम्भिक प्रतिवेदन प्राप्त भएको पनि बताउनुभयो । 

कार्यक्रममा मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालसहित उच्च पदस्थ अधिकारी र मन्त्रालय अन्तर्गतका निकायहरूका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सो कार्यक्रमको सञ्चालन मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले गर्नु भएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button