तपाईँ सुन्दै हुनुहुन्छः

‘आफ्नै खुट्टामा उभिऔँ, जीत निश्चित छ’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को बैठकमा पार्टीभित्र मौलाएको गुटवाद र अराजकताको अन्त्य गर्नुपर्ने लगायतका सुझाव केन्द्रीय सदस्यहरूले नेतृत्वलाई दिएका छन् ।

राजधानीमा जारी माओवादीको केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दै नेताहरूले पार्टीको पदाधिकारी चयन तत्काल हुनुपर्ने, सहरी क्षेत्रमा पार्टी किन कमजोर भयो भन्ने बारेमा स्पष्ट दृष्टिकोणका साथ विशेष अभियान सञ्चालन गर्नुपर्ने, पार्टी सञ्चालनका लागि स्पष्ट कार्यदिशा तय गर्नुपर्नेमा जोड दिएका छन् ।

यस्तै पार्टीको साङ्गठनिक अवस्थाको सुधारका लागि ७५३ वटै पालिकामा केन्द्रीय सदस्यको नेतृत्वमा पार्टी समिति परिचालित हुनुपर्ने, तालमेलभन्दा पनि आफ्नै बलबुतामा उभिने गरी अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ ।

त्यस्तै स्थानीय तहको हालै सम्पन्न निर्वाचनमा अन्तर्घात गर्नेको पहिचान गरी कारबाही गर्नुपर्ने, त्यसो नगरेको खण्डमा पार्टीलाई आगामी दिनमा थप घाटा हुने उनीहरूको भनाइ थियो ।

आइतबारदेखि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले १० पृष्ठको राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो । त्यस्तै छलफलका लागि नौ वटा प्रस्ताव समेत पेस भएको छ ।

लामो समयपछि बसेको बैठकमा केन्द्रीय सदस्यले खुल्ला रूपमा छलफलमा भाग लिएका छन् भने नेतृत्वको तथ्यसहितको आलोचना गरेका छन् । उनीहरूले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा माओवादी इमानदार भए पनि नेपाली काँग्रेसले आफूलाई मात्रै फाइदा हुने गरी गतिविधि गरेको भन्दै आगामी दिनमा विचार पुर्‍याउन समेत नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

गठबन्धन गर्नेभन्दा पनि आफ्नै शक्तिमा निर्वाचनमा जानुपर्ने, पार्टीको क्रान्तिकारी चरित्रलाई थप स्पष्ट पार्नुपर्ने, आफूले जितेका स्थानीय तहमा उदाहरणीय काम गर्नुपर्ने र जनतालाई नयाँ आधारमा सङ्गठित गर्नुपर्ने केन्द्रीय सदस्यहरूले सुझाव दिएका छन् । यस्तै विभिन्न धारामा विभक्त भएको माओवादी आन्दोलनलाई नयाँ आधारमा सङ्गठित गर्नुपर्ने समेत उनीहरूको भनाइ छ ।

आज बैठकमा नेताहरू हरिबोल गजुरेल, ओम शर्मा, लक्ष्मण पन्त, पञ्चा सिंह, मुक्ति प्रधान, देवी खड्का, परशुराम तामाङ, रामदीप आचार्य, मातृका यादव, बलावती शर्मा, मानबहादुर बुढा, गणेशमान पुन, झक्कु सुवेदी, सुदन किराँती, अमृता थापा, खेलप्रसाद बुढाथोकी सहित ४३ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । बैठक पुनः भोलि ११ बजे प्रज्ञा भवन कमलादीमा बस्नेछ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button