तपाईँ सुन्दै हुनुहुन्छः

युवक हत्या घटनामा मुछिएकी मेयर चलाउने प्रहरी नियन्त्रणमा

अछाम।अछाममा युवक हत्या आरोपमा फरार रहनुभएका पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेले अछाम प्रहरीमा आत्मसमर्पण गर्नुभएको छ ।चलाउनेसँगै घटनाका अर्का आरोपी नेत्रबहादुर शाहीले पनि प्रहरीमा आत्मसमर्पण गर्नुभएको अछामका प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले जानकारी दिनुभयो ।

आत्मसमर्पण गर्नुभएका मेयर चलाउनेसहितलाई हाल अछाम प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पञ्चदेवल विनायक नगरपालिका –४ कालिकास्थानका १६ वर्षीय विनोद शाहीको हत्याका योजनाकार भन्दै चलाउने, शाही र अन्य ११ जना हत्यामा संलग्न भएको भन्दै पीडित पक्षले १३ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको थियो ।

हत्याको आरोपमा कालिकास्थानकै पाँच जना यसअघि पक्राउ परेका थिए । अन्य छ जना हालसम्म फरार रहेको प्रहरीले जनाएको छ । जसमा जिल्ला समन्वय समिति उपप्रमुख दानमति बम शाही लगायतका छन् ।

प्रहरीले अनुसन्धान गरेर घटनालाई जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी भइरहेको बताइएको छ । सरकारी वकिल कार्यालयको निर्णयअनुसार घटना अदालत पेश गर्ने प्रहरीले जनाएको छ । जेठ १७ गते बेलुकीबाट बेपत्ता भएका विनोद पाँच दिनपछि पञ्चदेवल क्याम्पस नजिक मध्यपहाडी सडकभन्दा तल खोंचमा मृत अवस्थामा फेला परेका थिए ।

जेठ २१ गते मृत फेला परेका शाहीका आफन्तले हत्यारालाई कारबाही नभएसम्म शव उठाएका थिएनन् । गत जेठ २५ गते घटनास्थलबाट शव उठाएका थिए । किटानी जाहेरीमा संलग्न सबैलाई पक्राउ गरी अनुसन्धान नगरेको भन्दै पीडित पक्षले आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button