तपाईँ सुन्दै हुनुहुन्छः

‘खेल पर्यटनको विकासबाट नेपालले राम्रो फाइदा लिन सक्छ’

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले खेल पर्यटनको विकासबाट नेपालले राम्रो फाइदा लिन सक्ने बताउनुभएको छ ।

राजधानीमा सम्पन्न महिला खुल्ला गल्फ प्रतियोगिताका विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गर्न आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले नेपालको हावापानी र भौगोलिक विविधताका कारण खेल पर्यटनको माध्यमबाट अन्तर्राष्ट्रिय खेल केन्द्रका रुपमा नेपाललाई विकास गर्न सकिने भएकाले यसतर्फ राज्यका साथै निजी क्षेत्र र सबैको ध्यान जानुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले नेपालमा गल्फ खेलमा महिलाको सहभागिता बढ्दै जानु खुसीको करा भएको उल्लेख गर्नुहुँदै यसको विकासले नेपाललाई विश्वमा चिनाउन मद्दत पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानले खेलले व्यक्तिको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यमा सकारात्मक परिवर्तन दिनेसँगै देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने काम गर्दै आएको बताउनुभयो ।

त्यस अवसरमा रोयल नेपाल गल्फ क्लबका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ, महिला खुल्ला गल्फ प्रतियोगिताका आयोजकहरू आरसिया बानो, प्रतिमा शेर्पा, सरिता श्री ज्ञवाली लगायतले राष्ट्र प्रमुखको उपस्थिति र चासोले नेपालमा गल्फको विकासमा लाग्नेहरूलाई थप बल पुगेको र यसले आफूहरूमा हौसलाको सञ्चार गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button