तपाईँ सुन्दै हुनुहुन्छः

मनाङ ङिस्याङ गाउँपालिकाको बजेट २३ करोड ५९ लाख ९७ हजार

मनाङ । हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि रु २३ करोड ५९ लाख ९७ हजारको बजेट सार्वजनिक गरेको छ । संस्कृति संरक्षण र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरुङले बजेट सार्वजनिक गरिएको बताउनुभयो । 

गाउँपालिकाले आन्तरिक राजश्वतर्फ रु ५० लाख, राजश्व बाँडफाँटतर्फ रु पाँच करोड १३ लाख २३ हजार, वित्तीय हस्तान्तरणतर्फ रु १७ करोड ९४ लाख ७४ हजार विनियोजन गरेको छ । 

उक्त बजेटका लागि सङ्घीय सरकारबाट प्राप्त रु चार करोड ४७ लाख ९९ हजार, समानीकरण अनुदानतर्फ रु सात करोड २५ लाख, सशर्त अनुदानतर्फ रु नौ करोड १९ लाख विनियोजन भएको थियो । 

यसैगरी प्रदेश सरकारबाट प्राप्त रु ६७ लाख २४ हजार, समानीकरण अनुदानतर्फ रु ५० लाख ७४ हजार, सशर्त अनुदानतर्फ रु ५० लाख र समपूरक अनुदानतर्फ रु ५० लाख प्राप्त भएको थियो  । 

बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ रु पाँच करोड ७० लाख ४७ हजार, सामाजिक विकासतर्फ रु दुई करोड ५१ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु एक करोड २१ लाख, सार्वजनिक सेवा तथा क्षमता विकासतर्फ रु ४० लाख, पूर्वाधार विकासतर्फ रु छ करोड २६ लाख, आर्थिक विकासतर्फ रु एक करोड ३२ लाख ५० हजार विनियोजन भएको छ । 

गाउँपालिकाका अध्यक्ष कान्छा घलेले संस्कृति संरक्षण, सामाजिक सुरक्षा तथा संरक्षण, शिक्षा तथा खेलकुद, स्वास्थ्य, कृषि, पर्यटनलगायत पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो । आवासीय विद्यालय सञ्चालन, दिवा खाजा कार्यक्रम, शिक्षा, स्वास्थ्य, खेलकुद, सीपमूलक तालिमलगायत योजनालाई गाउँपालिकाले गौरवको योजनाका रुपमा प्राथमिकतामा राखेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button