तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा ६१ हजार बालबालिकालाई फाईजर खोप लगाइने

मकवानपुर । मकवानपुरमा ६१ हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको छ ।

बिहीबार (भोलि) देखि आगामी ५ दिनसम्म सञ्चालन हुने खोप अभियान अन्तरगत जिल्लाका ६१ हजार ७५ जना बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जिल्लाका ५ वर्षदेखि १२ वर्षसम्मका ६१ हजार ७५ जना बालबालिकालाई खोप लगाइने जानकारी दिनुभयो । मकवानपुरका १० वटै पालिकामा ५ दिनसम्म सञ्चालन हुने खोप अभियानमा बालबालिकालाई सुन्तला रङ्गको फाईजर खोप लगाइने उहाँले बताउनुभयो । घिमिरेका अनुसार खोप अभियानमा मकवानपुरका विद्यालय र वडा कार्यालयहरू लक्षित तोकिएका केन्द्रहरूमा एक सय ३ वटा स्वास्थ्य संस्थाका ३ सय ९० जना स्वास्थ्यकर्मी खटिने छन् ।

कोभिड–१९ विरुद्ध खोपको घोलक ०.९ प्रतिशत सोडियम क्लोराइड हो । यसबाट गम्भीर प्रकृतिका बिरामीलाई १० लाखमा एक जनालाई विभिन्न समस्या देखिने उहाँले बताउनुभयो । फाईजर खोप ९१ प्रतिशत प्रभावकारी हुने साथै पहिलो लगाएको २१ दिनपछि दोस्रो मात्राको खोप लगाउन मिल्ने उहाँले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीमसागर गुरागाईँले जिल्लामा खोप लगाउनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button