तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन समितिको निर्णयविरुद्ध सम्बद्ध क्लब, सङ्घ र जिल्ला पुनरावेदनमा जाने

file photo

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आसन्न निर्वाचनमा चार मत अयोग्य हुने निर्वाचन समितिको निर्णयविरुद्ध सम्बद्ध क्लब, सङ्घ र जिल्ला पुनरावेदनमा जाने भएका छन् ।

मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने क्रममा एन्फाको निर्वाचन समितिले चार मत अयोग्य हुने निर्णय गरेको थियो । 

प्राप्त दाबी विरोधमाथि छानबिन गर्दै निर्वाचन समितिले फ्रेन्ड्स क्लबका दिपक थापा, सरस्वती क्लबका उत्तम भण्डारी, सिराहा जिल्लाका प्रवीण यादव र महिला सङ्घकी पेमा डोल्मा लामाको मत बदर हुने निर्णय गरेको थियो । 

एन्फाका केन्द्रिय पदाधिकारी प्रतिनिधि बनेर आएको भन्दै सिराहा, एन्फाको स्थायी कमिटीमा रहेको भन्दै सरस्वती, किर्ते कागजात बुझाएको भन्दै महिला सङ्घ र निर्वाचन प्रक्रिया सुरु भैसकेको अवस्थामा राजीनामा दिएको भन्दै दिपक थापाको मताधिकार बदर गर्ने निर्णय भएको थियो ।

सरस्वती क्लबका महासचिव उत्तम भण्डारीले निर्वाचन समितिको निर्णयविरुद्ध आफूहरू पुनरावेदनमा जाने जानकारी दिनुभयो । निर्वाचन समितिको निर्णयमा चित्त नबुझेको खण्डमा पुनरावेदनमा जान सकिने व्यवस्था रहेको छ । 

एन्फाको आसन्न निर्वाचनमा जिल्ला, क्लब र सङ्घ गरी ८७ मत रहेका थिए । सिन्धुली र भक्तपुर निर्वाचनमा सहभागी हुन नपाउने भएपछि जम्मा मत सङ्ख्या ८५ मा घटेको थियो । चार मत बदर गर्दै निर्वाचन समितिले ८१ जनाको अन्तिम नामावली प्रकाशन गरेको छ । एन्फाका आसन्न निर्वाचनमा वर्तमान अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङ प्यानल सहित चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button