तपाईँ सुन्दै हुनुहुन्छः

प्रत्येक वडामा वर्थिङ्ग सेन्टर बनाउने नवनिर्वाचित अध्यक्षको प्रतिबद्धता

सप्तरी । सप्तरीको रुपनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेश कुमार यादवले प्रत्येक वडामा वर्थिङ्ग सेन्टर सञ्चालनमा ल्याउने बताउनुभएको छ ।

गाउँपालिकाका कार्यालय परिसरमा मङ्गलवार आयोजित शपथ ग्रहण तथा पदभार ग्रहण समारोहमा पद तथा गोपनीयताको शपथ लिएपछि सम्बोधन गर्दै उहाँले पालिकाको ६ वटै वडामा सुरक्षित मातृत्वका लागि वर्थिङ्ग सेन्टर निर्माण गरी सञ्चालनमा ल्याउने बताउनुभयो ।

जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने भन्दै उहाँले पालिका बाहिर उपचार गराउन जानुपर्ने अवस्थामा गरिब तथा विपन्न परिवारलाई ५० प्रतिशत छुटमा सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भ्रष्टाचार र कमिसन तन्त्रका कारण विकास हुन नसकेकोले कर्मचारीहरूलाई भ्रष्टाचारबाट मुक्त रहन उहाँले निर्देशन दिनुभयो । आफू कहिले पनि भ्रष्टाचार नगर्ने उनले प्रतिबद्धता जनाउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मुख्य जिल्ला निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले नवनिर्वाचित अध्यक्ष यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो । अध्यक्ष यादवले उपाध्यक्ष सहित सबै नवनिर्वाचित जनप्रतिनिधिहरूलाई शपथ ग्रहण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button