तपाईँ सुन्दै हुनुहुन्छः

इटहरी उपमहानगरपालिकामा काँग्रेसले बाजी मार्‍यो

इटहरी । नेकपा एमालेको गढ मानिएको सुनसरीको इटहरी उपमहानगरपालिकामा नेपाली काँग्रेसले एमालेको विरासत ढालेको छ ।

गठबन्धनको तर्फबाट उम्मेदवारी दिनुभएका नेपाली काँग्रेसका  हेमकर्ण पौडेलको विजयीसँगै काँग्रेसले इटहरी उपमहानगरपालिकामा एमालेको विरासत ढालेको हो । 

पौडेलले ३३,०४९ मत प्राप्त गर्दै इटहरी उपमहानगरमा विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यामकुमार सुब्बाले २८,०३१ मत प्राप्त गर्नु भएको थियो । बहुदलीय व्यवस्था सुरु भएपछि काँग्रेसले पहिलो पटक जित निकाल्न सकेको हो । 

२०४९ सालमा गाउँ विकास समिति हुँदै २०५३ मा इटहरी नगरपालिका भएपछि २०५४ सालदेखि निर्वाचन एमालेले नै जित निकाल्दै आएको थियो । 

यस्तै २०७१ सालमा उपमहानगरपालिका घोषणा भएपछि २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि एमाले नेतृत्वले विजय हासिल गरेको थियो ।

२०३५ साल साउन ५ गते झापा केराबारीमा जन्मिनु भएका  पौडेल २०४६ सालको जनआन्दोलनका बेला ११ वर्षे पौडेल पञ्चायतविरुद्ध सडकमा ओर्लनुभएको थियो ।

नेपाल विद्यार्थी सङ्घको राजनीतिमा लाग्नुभएका वक्तृत्वकलामा अब्बल पौडेल इटहरीको जनता बहुमुखी क्याम्पसको स्ववियु सभापति चुनिएपछि नेपाली काँग्रेसको आशा लाग्दा युवा नेताका रुपमा उदाउनुभएको थियो ।

किशोर उमेरमै उहाँले २०५४ सालमा जनता क्याम्पसको स्ववियु निर्वाचनमा विपक्षीलाई हराउँदै सभापति जितेर राजनीतिक उचाइ प्राप्त गर्न थाल्नुभएको थियो । 

नेपाल विद्यार्थी सङ्घ सुनसरी सदस्य (२०५५) हुँदै नेपाली काङ्ग्रेस इटहरी नगर सभापति (निर्विरोध), नेपाली कांग्रेस इटहरी नगर सभापति हुँदै तत्कालीन राजनीतिक संयन्त्र इटहरीका प्रभावशाली सदस्य बने पछि पौडेलले उचाइ प्राप्त गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button