तपाईँ सुन्दै हुनुहुन्छः

कामपाको प्रमुखमा बालेन्द्र र उपप्रमुखमा डङ्गोलकै अग्रता कायम

काठमाडौं। महानगरपालिकाको प्रमुख पदमा बालेन्द्र शाह र उपप्रमुख पदमा सुनिता डङ्गोलको अग्रता जारी रहेको छ । हालसम्मको मतपरिणामअनुसार कामपाको प्रमुखको लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिनुभएका शाहले नौ हजार ४९९ मत ल्याएर आफ्नो अग्रता कायम राख्नुभएको छ ।

उपप्रमुखमा भने नेकपा एमालेका डङ्गोलले नौ हजार ८१५ मत प्राप्त गरी अग्रस्थानमा रहनुभएको छ ।

त्यसै गरी प्रमुख पदकै उम्मेदवार एमालेका केशव स्थापितले पाँच हजार १९६ र नेपाली काँग्रेसका सिर्जना सिंहले चार हजार ५४० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कार्यालय काठमाडौँका प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले दुई हजार ७८४ मत प्राप्त गर्नुभएको छ । हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा छ स्थानबाट कामपाको मतगणना कार्य भइरहेको छ । अहिले वडा नम्बर ३, ४, ५, ६, ७, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ ।

वडा नम्बर १ र २ को मतपरिणाम यसअघि नै सार्वजनिक भइसकेको छ । परिणामअनुसार वडा १ मा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ, २ मा एमालेकै तर्फबाट राजेन्द्रकुमार श्रेष्ठ विजयी हुनुभएको छ । हाल कामपामा २५ हजार ९४ मतणाना भइसकेको छ । जसमा ८८२ मत बदर भएको छ । कामपामा कूल मतदाता तीन लाख २४२ रहेकोमा जम्मा ६३ दशमलव ४९ प्रतिशत मतदाताले मतदान गरेको आयोगको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button