तपाईँ सुन्दै हुनुहुन्छः

वडा सचिवको जागिर त्यागेर वडाध्यक्षको उम्मेदवार

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ मा वडाध्यक्ष बन्न शालिकराम भट्टराई जनता समक्ष मत माग्नमै व्यस्त देखिनुभएको छ । झण्डै साढे एक दशक निजामती कर्मचारी भएर जनताको सेवा गर्नुभएका भट्टराईले सरकारी जागिरबाट राजीनामा दिएर वडाध्यक्षको उम्मेदवारी दिनुभएको हो ।

तनहुँका विभिन्न स्थानमा कर्मचारी भएर काम गर्नुभएका उहाँले शुक्लागण्डकी नगरपालिका –३ मा वडा सचिवको रुपमा सेवारत रहनुभएको थियो । १४ बर्ष नौ महिना स्थायी कर्मचारी भएर काम गर्नुभएका उहाँले जीवनको २६ बर्ष सरकारी सेवामा बिताएको  बताउनुभयो ।

सानै उमेरदेखि सामाजिक सेवामा चासो रहेको दाबी गर्ने भट्टराईले गाउँको विकास गर्न वडा सचिव पदबाट राजीनामा बुझाएर राजनीतिमा लागेको प्रतिक्रिया दिनुभयो । ‘जागिरसँगै सामाजिक काममा पनि क्रियाशील थिएँ’उहाँले भन्नुभयो,‘ वडाध्यक्ष भएर काम गर्ने इच्छा जाग्यो अव जिते पनि नजिते पनि सामाजिक सेवामा लाग्ने छु ।’

उहाँ नेकपा एमालेको तर्फबाट तनहुँको शुक्लागण्डकी नगरपालिका वडा न ११ मा वडाध्यक्षको उम्मेदवार बन्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button