तपाईँ सुन्दै हुनुहुन्छः

सिटौला र उपाध्यायलाई ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’

काठमाडौँ । नइ प्रकाशनले २०७८ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ नेपाली वाङमयको श्रीवृद्धिका लागि सिर्जना र सङ्गठन मार्फत निरन्तर जागरूक र समर्पित हुँदै नेपाली भाषा साहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुहुने अमर प्राज्ञ अमेरिकाका प्रा.मोहन सिटौलालाई समर्पण गर्ने निर्णय गरेको छ ।

ताम्रपत्रका साथ यस पुरस्कारको राशि २ लाख रुपियाँ रहेको छ ।

यसैगरी नइ प्रकाशनले समालोचना, कविता, निबन्ध, नाटक, अनुवाद आदि सिर्जनाद्वारा नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउनुहुने भारत असमका श्री छविलाल उपाध्यायलाई ‘नइ गणेश दुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

ताम्रपत्रका साथ यस पुरस्कारको राशि १ लाख रुपियाँ रहेको छ ।

यी दुवै पुरस्कार अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएकामध्ये एक जना विशिष्ट नेपाली गोर्खाली मूलका विदेशी व्यक्तित्वलाई हरेक वर्ष समर्पण गरिँदै आएको छ ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईँको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button