तपाईँ सुन्दै हुनुहुन्छः

आकर्षक ढङ्गले पुनः निर्माण गरिएको काली मन्दिरको उद्घाटन

भद्रपुर, झापा । झापाको भद्रपुर–१० स्थित चन्द्रगढीमा आकर्षक ढङ्गले पुनः निर्माण गरिएको काली मन्दिरको आज विशेष पूजाआर्चना गरी उद्घाटन गरिएको छ ।

स्थानीय स्तरमा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले १ करोड ५२ लाख रुपैयाँ लागतमा पुनः निर्माण गरिएको काली मन्दिरको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले आज एक विशेष समारोहका बीच उद्घाटन गर्नुभयो ।

बटुकले स्वस्तिवाचन वाचन गरेपछि पञ्चकन्यासहित नगरप्रमुख श्रेष्ठले विशेष पूजाआर्चना गरी मन्दिरको उद्घाटन गर्नुभएको हो ।

सङ्घीय सरकारको ९ लाख, भद्रपुर नगरपालिकाको २७ लाख र दाताहरूको सहयोगमा १ करोड ५२ लाखको लागतमा मन्दिर पुनः निर्माण गरिएको काली मन्दिर निर्माण समितिका संयोजक भीम पौडेलले बताउनुभयो । 

जीर्ण अवस्थाको पुरानो मन्दिर भत्काएर ०७६ साल मङ्सिर २१ गते शिलान्यास गरिएको मन्दिर २७ महिनामै पुनः निर्माण गरी सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । 

प्यागोडा शैलीमा निर्माण गरिएको तीन तले मन्दिर पुनः निर्माणले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने निर्माण समिति सदस्य धनप्रसाद शिवाकोटीले बताउनुभयो ।

मन्दिरभित्र काली, दुर्गा, गणेश, लक्ष्मी, सरस्वतीका ठुला मूर्ति भारतको राजस्थानबाट र सोही अनुरूपका अन्य साना मूर्ति भारतको सिलिगुडीबाट खरिद गरी ल्याइएको व्यवस्थापन समितिका उपाध्यक्ष मोहन कुमाईंले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button