२०७९ साल जेठ ५ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा च्वाँचे जोगाउन अभियान

अशोक विश्वकर्मा २०७८ माघ ११ गते १४:१०

तनहुँ । केही बर्ष अघिसम्म गाउँ घरमा प्रशस्त देखिने कालो सुँगुर (च्वाँचे)को प्रजाति जोगाउन तनहुँमा संरक्षण अभियान थालिएको छ  । मासुका लागि उत्पादन हुने सुँगुर प्रजातिको च्वाँचे लोप हुँदै जान थालेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले संरक्षण अभियान सुरु गरेको हो । केन्द्रसँगै यहाँका विभिन्न स्थानीय तहमा पनि च्वाँचे प्रवर्द्धन कार्यक्रम सञ्चालन भएको पाइन्छ ।

जिल्लाको भिमाद नगरपालिका स्थित वडा–२ र वडा–९ का ३५ किसानलाई च्वाँचे पालनमा आबद्ध गरेर यसको संरक्षण थालनी गरिएको भिमादका पशु सेवा शाखा प्रमुख मुक्ति पौडेलले जानकारी दिनुभयो । उहाँले नगरपालिका अन्तर्गत रहेका गरिब र निम्न आय स्तर भएका किसानहरूलाई च्वाँचे पालन गर्न अनुदान प्रदान गरेर संरक्षणका लागि अभियान सञ्चालन भइरहेको बताउनुभयो ।

रैथाने जातका पशुहरू लोप हुँदै जान थालेपछि च्वाँचे संरक्षण कार्यक्रम लागु गर्न पहल गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका  प्रमुख डा.बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  च्वाँचे पाल्नको लागि खोर सुधार गर्दै आवश्यक भ्याक्सिन र जुकाको औषधी खुवाउने कार्यक्रम केन्द्रले तय गरेको श्रेष्ठले बताउनुभयो ।

उहाँले च्वाँचेको संरक्षण गर्दै उपयोग गर्ने समूह वा किसानलाई आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम रहेको बताउँदै एक/दुई वटा पालेका किसानहरूलाई समेटेर २० देखि २५ जनासम्म किसानलाई अनुदान दिन दश लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताउनुभयो । 

यता रैथाने जातको कालो सुँगुर च्वाँचे मगर समुदायको संस्कृतिसँग पनि मिल्ने भएकाले मगर समुदायका किसानहरूलाई कार्यक्रममा आकर्षित गर्न भिमाद नगरपालिकाले पहल गरिरहेको छ  । शाखाका प्रमुख पौडेलले सम्बन्धित जातीको कुल पूजामा प्रयोग बढाउने वा त्यस्ता समुदायले सञ्चालन गर्ने घरबास कार्यक्रम होमस्टेमा च्वाँचेको मासुको परिकार बनाउन सकिने सुझाव दिनुभयो ।

यहाँ लोपोन्मुख पशुहरूमा नश्ल सुधारको साथसाथै संरक्षणमुखी कार्यक्रमलाई प्राथमिकता दिन थालिएको छ । पशु स्वास्थ्य नहुँदा १५ देखि २० प्रतिशतसम्म उत्पादनमा कमी आएको अध्ययनले समेत देखाएको छ । पहाडी क्षेत्रमा तनहुँ, स्याङ्जा र पाल्पा लगायत मगर समुदायका बाहुल्यता रहेको क्षेत्रमा कालो सुँगुर पालन भएको भएता पनि छोटो समयमा धेरै आम्दानी गर्न विकसित प्रजातिमा किसान आकर्षित भएपछि रैथाने जातको पशुको अस्तित्व सटकमा परेको जानकारहरूको भनाई छ । 

सम्बन्धित