तपाईँ सुन्दै हुनुहुन्छः

खोरमा थुनिएकी पाँचथरकी एक युवतीको उद्धार

पाँचथर । मानसिक समस्या देखिएर समयमै उपचार नपाउँदा खोरमा थुनिएकी पाँचथर फाल्गुनन्द गाउँपालिका ४ चिलिङदिनकी ३५ वर्षीय नन्दकुमारी नेम्वाङको आइतावार उद्धार गरिएको छ ।

कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसक्दा परिवारका सदस्यले खोरमा थुनेर राखेको सार्वजनिक भएपछि राष्ट्रिय महिला आयोगले उनको उद्धार गरेको हो ।

महिला आयोगले जिल्ला प्रशासन कार्यालय र फाल्गुनन्द गाउँपालिकालाई पत्र लेख्दै उद्धार गरेर काठमाडौँ पठाउन समन्वय गर्ने जिम्मेवारी दिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो । सोही अनुसार उनलाई उद्धार गरेर आइतबार नै एम्बुलेन्स मार्फत काठमाडौँ पठाइएको हो ।

उपचारकै अभावमा खोरमा थुनिएकी नेम्वाङको हेरचाह गर्ने आमा पृथ्वीमायाको पनि स्वास्थ्य अवस्था कमजोर भएकाले आयोगको ध्यानाकर्षण भएको आयोगकी सदस्य तथा एक नम्बर प्रदेश संयोजक कृष्णकुमारी खतिवडाले जानकारी दिनुभयो । नेम्वाङको उपचारमा लाग्ने सबै खर्च व्यहोर्र्दै निको भएपश्चात् परिवारमा पुनः स्थापना गर्ने सम्मको जिम्मेवारी आयोगले नै लिएको उहाँको भनाइ छ ।

उनलाई पहिलो तीन महिना कोसिस नेपालमा राखेर उपचार गरिनेछ । त्यसपछि आवश्यकता अनुसार अन्य अस्पतालमा रेफर गर्ने चॉजोपॉजो मिलाइएको पनि खतिवडाले बताउनुभयो । उनलाई उद्धार गर्न प्रजिअ न्यौपाने सहित फाल्गुनन्द गाउँपालिकाकी उपाध्यक्ष देबित्राकुमारी आङदेम्बे र प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोक, वडाध्यक्ष मनबहादुर चेम्जोङ,पाँचथर काँग्रेसका सह सचिव सन्तोष श्रेष्ठ र स्वास्थ्यकर्मी शिशिर आङवो सहितका जनप्रतिनिधि सञ्चारकर्मी फाल्गुनन्द ४ स्थित घर पुगेका थिए ।

नेम्वाङलाई काठमाडौँ सम्म लैजान लाग्ने यातायात सहितका सबैखाले खर्च फाल्गुनन्द गाउँ पालिकाले व्यहोरेको प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button