तपाईँ सुन्दै हुनुहुन्छः

दुई दिनदेखि अत्यधिक चिसो, मध्य तराईको जनजीवन प्रभावित

वीरगन्ज । विगत दुई दिनदेखि एक्कासि बढेको चिसोको कारण बीरगंज लगायत मध्य तराईको जनजीवन प्रभावित बनेको छ । बाक्लो हुस्सुसँगै शितलहर बढेपछि पर्सा, बारा, रौतहट लगायत ग्रामीण क्षेत्रको जनजीवन प्रभावित बनेको हो ।

शितलहरसँगै चिसो हावाको कारणले जोडो अत्यधिक मात्रामा बढेको छ । चिसो बढेसँगै प्रमुख बजार र ग्रामीण भेगमा चहलपहलमा घटेको छ । यस क्षेत्रमा दुई दिनदेखि लागेको बाक्लो हुस्सुसँगै शितलहर खस्दा कठ्याङ्ग्रिँदो जाडोको कारण विपन्न वर्गका व्यक्तिहरू प्रभावित छन् ।

चिसो हावासँगै जाडो बढेपछि सुत्केरी, बालबालिका, वृद्ध, असक्त, अपाङ्ग, दमका रोगीहरू प्रभावित भएको चिकित्सकहरूले बताएका छन् । चिसोको कारण दलित बस्तीका व्यक्तिहरू बढी प्रभावित हुने गरेका छन् ।

जाडो छल्नका लागि वीरगन्ज महानगरपालिका, सशस्त्र प्रहरीले वीरगन्ज लगायत पर्साको ग्रामीण क्षेत्रका विभिन्न स्थानमा दाउरा वितरण गर्दै आगो बाल्दै आएका छन् । वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रका ३२ वटै वडामा ज्येष्ठ नागरिक, दलित, अपाङ्ग विपन्न वर्गका ६ हजार भन्दा बढीलाई कम्बल लगायत न्यानो कपडा वितरण अभियान समेत जारी राखेको छ ।

आजै पर्साको पोखरिया नगरपालिका वडा नम्बर ३ मा शितलहरबाट प्रभावित एकल महिला, दलित, वृद्ध वृद्धा, ज्येष्ठ नागरिक गरी ८५ जनालाई कम्बल वितरण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button