तपाईँ सुन्दै हुनुहुन्छः

बबईमा हालसम्म २० किलोमिटर सडक कालोपत्रे

दाङ । दाङको बबई गाउँपालिकामा हालसम्म करिब २० किलोमिटर सडक कालोपत्रे गरिएको छ । गाउँपालिका, प्रदेश तथा सङ्घीय सरकारको बजेट व्यवस्थापनमा करिब २० किलोमिटर सडक कालोपत्रे भएको बबई गाउँपालिकाको पूर्वाधार शाखाले जनाएको छ ।

सपपुरक तथा विशेष अनुदानमा गाउँपालिकाभित्र रहेका सडकको कालोपत्रे गरिएको पूर्वाधार शाखाका प्रमुख एवं इन्जिनियर राजेश देवकोटाले जानकारी दिनुभएको छ । गाउँपालिकाले ज्वाला मार्ग, चक्रपथ, पञ्चकुले चरकमटिया तथा खिलतपुर, गाउँपालिकाको प्रशासनिक केन्द्र पुग्ने सडक, सहिद गेटदेखि उत्तर तर्फ गरी करिब २० किलोमिटर सडक कालोपत्रे गरेको जनाएको छ ।

स्थानीय तहको निर्वाचन पश्चात् बबई गाउँपालिकाले राजमार्ग बाहेक स्थानीय सडक कालोपत्रे गरेको जनाएको छ । सडकहरू स्तरोन्नति भएपछि स्थानीय समेत खुसी भएका छन् । सडक कालोपत्रेका लागि राजमार्ग हुनुपर्ने अवस्थामा स्थानीय सरकारले सडकको ट्र्याक खोल्ने तथा ग्राभेल एवं कालोपत्रे गर्ने कार्यलाई प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिनुभयो ।

यसैबिच गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल र प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्लले गङ्गालाल मार्गको कालोपत्रे योजनामा शिलान्यास गर्नुभएको छ ।

बबई गाउँपालिका वडा नं. ४ को हापुरे रङ्गशाला नजिक मार्गको कालोपत्रे गर्ने योजनाको शिलान्यास गर्नुभएको हो । कालोपत्रे गर्ने जिम्मा नाञ्जीला एन्ड आकाङ्क्षा कन्स्ट्रक्सन प्रालि सब कन्ट्रयाक्ट अमृत निर्माण सेवा तुलसीपुरले लिएको छ ।

सङ्घीय र बबई गाउँपालिकाको साझेदारीमा कालोपत्रे हुन लागेको सडकको कुल लागत ३ करोड १५ लाख ३४ हजार ४ सय ८७ रुपैयाँ भ्याटसहित रहेको छ । कालोपत्रे गर्ने कार्य छिटो सक्ने गरी काम गर्ने निर्माण कम्पनीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button