दार्मा गाउँपालिकामा उपाध्यक्षसँग उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै

सल्यान । गरिब विपन्न समुदायलाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन भइरहेको उपाध्यक्षसँग उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
अति गरिब विपन्न समुदायका जनतालाई उद्यमी तथा स्वरोजगार बनाउँदै जाने उद्देश्यअनुसार जिल्लाको दार्मा गाउँपालिकामा सञ्चालन गरिएका सीप तालिमबाट ग्रामीण क्षेत्रका महिलाहरू तथा पुरुष लाभान्वित भएका छन् ।
महिला चुलो चौको र पुरुष घरमै अरू काममा सीमित भएका दार्माका समुदाय अहिले धमाधम सीप सिक्न व्यस्त छन् ।
दार्मा गाउँपालिकाका सबै वडाबाट प्रतिनिधित्व हुने गरी वडा कार्यालयको सिफारिसमा सिलाई कटाई, पलम्बर, विद्युत् वायरिङ, ड्राइभर तालिम, कम्प्युटर तालिममा महिला पुरुष व्यस्त हुँदै आइरहेका छन् ।
सिलाइ कटाइमा महिला ३६ जना, पलम्बरमा २६ जना पुरुष, मसला उद्योगमा १२ जना महिला, ड्राइभर ३६ जना पुरुष, विद्युत् वायरिङमा ३० जना पुरुष, जीयारीमा ३० महिला र कम्प्युटर मर्मत ३० मा गरी जम्मा दुई सय जनाले तालिम लिइरहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकालाई आर्थिक रुपमा बलियो बनाउन आयआर्जन तथा उद्यमशीलता तालिम र व्यवसायमा बजेटको व्यवस्था गरिएको उपाध्यक्ष टिका शर्मा वलीले बताउनुभयो ।
स्वरोजगार बनाउन सरकारले खर्च गरेको पैसाले सीप सिकेर आत्मनिर्भर बन्नु पर्नेमा उहाँको जोड रहेको छ ।
गाउँपालिकाले तालिम सिकेर व्यवसाय सुरु गर्नेलाई थप सीप सिकाइने र औजारको लागि बजेटको व्यवस्था गर्ने थप व्यवस्थाका लागि अरू निकाय समक्ष समन्वय गर्ने उहाँको भनाई छ ।
“स्थानीय कच्चा पदार्थबाट सामाग्री उत्पादन गरेर बिक्री वितरणका लागि बजारीकरण गरी आर्थिक हिसाबमा बलियो बनाई गरिब असहायलाई उद्यमी बनाउन यो कार्यक्रमले टेवा पुग्ने छ”, गाउँपालिका उपाध्यक्ष शर्माले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्