तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश प्रमुख शर्माद्वारा माघे सङ्क्रान्तिको शुभकामना

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघे सङ्क्रान्ति एवम् माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । 

भौगोलिक, जातीय र सांस्कृतिक विविधताले भरिपूर्ण नेपालमा माघे संक्रान्तिलाई उत्साहपूर्वक मनाउने समुदायका लागि प्रदेश प्रमुख शर्माले शुभकामना व्यक्त गर्नुभएको हो । 

शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख शर्माले सबै समुदायले मनाउने चाडपर्वहरू राष्ट्रिय पर्व भएको उल्लेख गर्नुभएको छ । 

उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, “यस्ता पर्वहरूले हामी नेपालीलाई सहिष्णुतापूर्वक एउटै सूत्रमा बाँध्ने काम गरेको छ । यस सन्दर्भमा सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने आजको दिनलाई मकर सङ्क्रान्ति वा माघीvपर्वका रुपमा मनाइने गरिएकाले यसको आफ्नै विशेषता र सांस्कृतिक महत्त्व छ ।”

प्रमुख शर्माले यस पर्वले एक आपसमा सद्भाव, सहिष्णुता र प्रगाढ पारस्परिक सम्बन्ध अभिवृद्धि गराउन थप मदत पुग्नेमा पनि विश्वास व्यक्त गर्नु भएको छ । 

प्रदेश प्रमुख शर्माले शुभकामना सन्देशमा कोरोना सङ्क्रमणबाट सुरक्षित रहनका लागि आग्रह पनि गर्नुभएको छ । 

“हामीले मनाउने पर्वहरूको विशेषता र महत्त्वमा कुनै प्रकारको कमी नहुने गरी कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन स्वास्थ्य मापदण्डको पालना गर्दै चाडपर्वहरू मनाउन समेत आग्रह गर्दछु ।” प्रदेश प्रमुख शर्माको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button