तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा भाडादर निर्धारण, तत्काल लागु नगर्ने यातायात व्यवसायीको अडान

जुम्ला । जुम्लामा गुड्ने साना तथा ठुला यात्रुवाहक सवारीको भाडादर निर्धारण गरिएको छ । सरकारले निर्धारण गरेको लामो तथा छोटो दुरीका सवारीको भाडादर कार्यान्वयनका लागि यातायात व्यवस्था सेवा कार्यालय, प्रहरी प्रशासन, नागरिक समाज, राजनीतिक दल र यातायात व्यवसायीबीच छलफल गरिएको छ । जुम्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीले मनपरी महँगो भाडा लिएको जनगुनासो बढेपछि सरकारले तोकेको भाडादर निर्धारण र कार्यान्वयनका लागि छलफल गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले सरकारले निर्धारण गरेको भाडादर यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“प्रत्येक यात्रुवाहक सवारीमा भाडादर अनिवार्य टाँसिएको हुनुपर्छ । सर्वसाधारणबाट व्यापक गुनासो आएको छ । मनपरी भाडा बढाउने । कुनै समन्वय नगर्ने,यात्रुले सास्ती पाउने समस्या बढेकोले यथाशीघ्र सरकारी भाडादर कार्यान्वयन गर्नुको विकल्प छैन ।”

यातायात व्यवसायीका आफ्नै समस्या भएपनि नागरिकलाई सेवा दिने सवालमा व्यवसायलाई नाफामुखी मात्र नभई सेवामुखी बनाउन समेत प्रजिअ प्रसाईँको आग्रह छ । यातायात व्यवस्था कार्यालयले लामो दुरीमा किमीका आधारमा जुम्लादेखि मान्मा बसमा ४४०, मिनिबसमा ५४० र जिपमा ६३५ रुपैयाँ, जुम्लादेखि सुर्खेत बसमा ८४०, मिनिबसमा एक हजार ३० र जिपमा १२ सय ९ रुपैयाँ र जुम्लादेखि काठमाडौँ सम्म १२ सय ८३ बस भाडा निर्धारण गरिएको छ । 

त्यस्तै, छोटो दुरीमा जुम्लादेखि उम्गाड, बस २७ जिप भ्यान ४० रुपैयाँ, जुम्लादेखि लाम्रा सम्म बस ४४ र जिप भ्यान ६४ रुपैयाँ, जुम्लादेखि तातोपानी बसको ६५ र जिप भ्यान ९६, जुम्लादेखि कुडारी सम्म बसमा १०८ र जिप भ्यानमा १६० रुपैयाँ, जुम्लादेखि रारालिहि सम्म बसको १३५ र जिप भ्यानको २ सय र जुम्ला बजारदेखि नाग्म सम्म बसको १७३ र जिप भ्यानको २५६ रुपैयाँ भाडादर निर्धारण गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका सूचना अधिकारी लोक बहादुर महतले जानकारी दिनुभयो ।  

उहाँका अनुसार छोटो दुरीमा चल्ने अटो रिक्साको कममा ४० देखि बढीमा ७० सम्म जुम्लादेखि नाग्म सम्मको भाडा तोकिएको छ । त्यस्तै, कच्ची सडकको पनि दुरीअनुसार भाडा निर्धारण गरिएको 

उता, जुम्लाका नागरिक अगुवा, राजनीतिक दल, प्रहरी प्रशासन  र यातायात व्यवस्था कार्यालयले आफु मर्कामा नपर्ने गरी अनिवार्य सरकारले निर्धारण गरेको भाडादर कायम गर्न सुझाव दिएका छन् । नेकपा एमाले अध्यक्ष शान्तीलाल महत, माओवादी केन्द्रका विष्णु महत र एकिकृत समाजवादीका सचिव आदीप्रसाद न्यौपाने, नागरिक अगुवा राज बहादुर महतले निर्धारण गरिएको भाडा दर कायम गर्न यातायात व्यवसायीको ध्यानाकर्षण गराएका छन् । 

भाडा नघटाउने व्यवसायीको अडान

सरकारले निर्धारण गरेको भाडादर तत्काल कार्यान्वयन नहुने जुम्लाका यातायात व्यवसायीको अडान छ । इन्धनको मूल्य दैनिक बढ्दै गएको अवस्थामा भाडा घटाएर व्यवसाय धरापमा पार्ने गरी सेवा दिन नसकिने यातायात व्यवसायीको अडान छ । तिला कर्णाली यातायात प्रालीका इन्चार्ज इन्द्र थापाले तेलको मूल्य नघटी, पाट पुर्जाको मूल्य नघटी, मेकानिकल खर्च नघटे सम्म भाडा घटाउने स्थिति नरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो,“विगतमा छोटो लामो दुरीमा कममा ६० रुपैयाँ देखि बढीमा १५ सय सम्म पनि लिएका हौ । तर अहिले दैनिक डिजेल पेट्रोलको मूल्य बढ्दै जान थाल्यो । त्यसरी नै पाट पुर्जाको मूल्य बढेको छ । कसरी भाडा घटाउने ? इन्धनको मूल्य घटाउन, पार्टपुर्जाको मूल्य घटाउन तर्फ सरकारले ध्यान दिए निर्धारण गरिएको भाडा लागु गर्न तयार छौ ।”

घर जग्गा धितो राखेर नागरिकका सेवाका लागि गाडी सञ्चालन गरे पनि सरकारले व्यवसायीका पिर मर्कालाई नबुझेर लाद्न खोजेको समेत यातायात व्यवसायी थापाको गुनासो छ । 

त्यस्तै जुम्लामा काँक्रेविहार यातायात प्राली, भैरवनाथ यातायात प्राली, देउती यातायात प्राली, सनराइज यातायात प्राली लगायत झण्डै १ दर्जन यातायात प्राली रहेका छन् । सबै यातायात व्यवसायीहरूले तेलको मूल्य नघटे सम्म भाडा कुनै पनि अवस्थामा नघट्ने बताएका छन् । 

व्यवसायीका समस्यालाई नजरअन्दाज गर्दै भाडादर कार्यान्वयन गर भन्नु व्यवसायबाट सिधै हात धुनु हो । सेवा सँगै नाफा बिनाको व्यवसाय नहुने भएकोले निर्धारण गरिएको भाडा तत्काल लागु गर्न नसकिने सनराइज यातायातका इन्चार्ज दीप रावतको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button