तपाईँ सुन्दै हुनुहुन्छः

पुँजी बजारले अर्थतन्त्र विकासमा सहयोग गर्छ: मुख्यमन्त्री राई

विराटनगर । प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र कुमार राईले पुँजी बजारले छरिएर रहेको पैसालाई समेट्ने र त्यसले व्यवसाय र अर्थतन्त्र विकासमा सहयोग हुने बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले प्रदेश नम्बर १ को राजधानी विराटनगरमा आयोजना गरेको प्रदेशस्तरीय पूँजीबजार सचेतना कार्यक्रममा मुख्यमन्त्री राजेन्द्र कुमार राईले नेपालमा पुँजी बजारले विश्वास आर्जन गरिसकेको बताउनुभयो । 

पूँजी बजारका बारेमा सचेतना र जागरण ल्याउन प्रदेश सरकारले आवश्यक सहयोग विस्तार गर्ने पनि मुख्य मन्त्री राईले बताउनुभयो ।

प्रदेश सरकार पूँजी बजारको विकास र विस्तारका लागि सदैव तत्पर रहने प्रतिबद्धता पनि मुख्यमन्त्री राईले व्यक्त गर्नुभयो । 

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नीरज गिरीले पुँजी बजारको विस्तार वृहत् रूपले भइरहेको बताउनुभयो ।

उहाँले सूचीकृत कम्पनीहरूमा ९० प्रतिशत कम्पनी बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीहरू हुँदा राष्ट्र बैङ्कले ल्याउने नीतिगत प्रभाव पर्दा त्यो लगानीमैत्री नभएको महसुस हुँदा बजारमैत्री नीतिगत सहजीकरण गर्न बोर्डले सम्बन्धित सबै निकायहरूमा समन्वय गरिरहेको बताउनुभयो ।

प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले पुँजी बजारको विकास र विस्तारमा सघाउन मन्त्रालय सदैव तयार रहेको बताउनुभयो । 

कार्यक्रमका मर्चेन्ट बैंकर्स एसोसिएसनको तर्फबाट महासचिव पारसमणि ढकाल र ब्रोकर एसोसिएसनको महासचिव गुणनिधि भुसालले सेयर लगानीकर्ताहरूलाई प्रशिक्षण दिनुभएको थियो । 

कार्यक्रममा १सय ५० जनाभन्दा बढी लगानीकर्ता, प्राध्यापक, पत्रकार, बैंकर र सर्वसाधारणको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button