तपाईँ सुन्दै हुनुहुन्छः

नबिल बैङ्कले सार्वजनिक गर्‍यो ‘नबिल डिजीबैंक पोर्टल’

काठमाडौँ । नबिल बैङ्कले आधिकारिक रूपमा ‘नबिल डिजीबैंक पोर्टल’ सार्वजनिक गरेको छ । 

नबिल डिजीबैंक पोर्टलमार्फत बैङ्कका ग्राहकले एक द्वार प्रणालीमार्फत अनलाइन सेवा प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ ।

ग्राहकलाई सहज र सरल बैङ्किङ अनुभव प्रदान गर्न सो पोर्टलमार्फत बैङ्कले आफ्नो उत्पादन सेवालाई स्वचालित बनाएको जनाइएको छ । 

बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकेशरी शाहले आज आयोजित एक कार्यक्रमका बीच नबिल डिजीबैंक पोर्टलको सुरुआत गर्दै कम्प्युटराइज्ड बैङ्कबाट सुरु भएको यात्रा अब साँच्चिकै डिजिटल बैङ्कका रूपमा विकास भएको बताउनुभयो । 

बैङ्कले ३७ वर्षे अवधिमा गरेको प्रमुख कार्यमध्ये डिजीबैंक पोर्टलसमेत एक रहेको उहाँको भनाइ थियो । 

सो पोर्टलमा अनलाइन फिक्स्ड डिपोजिट, डेबिट/क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल÷एसएमई लोन आवेदनलगायत अनलाइन सेवा उपलब्ध रहेको छ । यसका साथै बैङ्कले आगामी दिनमा अन्य धेरै अनलाइन सेवा थप गर्दै जाने योजना बनाएको छ । 

कार्यक्रममा बैङ्कका सिइओ शाहले भिडियो प्रमाणीकरणबाट खाता खोल्न सकिने (भिकेवाइसी) र भर्चुअल आई कार्डलगायतका थप दुई नयाँ अनलाइन सेवासमेत सार्वजनिक गर्नुभएको थियो ।

भिकेवाइसीको सुरुआतसँगै ग्राहकसँग केवाइसी प्रमाणीकरणका लागि बैङ्कको शाखा पुग्ने वा अनलाइनबाटै बैङ्कलाई आवश्यक विवरण पेस गर्ने दुई विकल्प उपलब्ध भएको जनाएको छ । 

भिकेवाइसी छनोटमार्फत ग्राहकले क्यामराको प्रत्यक्ष अगाडि बसेर आफ्नो परिचय वा पूर्ण निर्धारित परिचयात्मक अभ्यास गरी ग्राहक पहिचानसम्बन्धी कार्य पूरा गर्नुपर्नेछ ।

त्यसैगरी नबिल भर्चुअल आइकार्ड नबिल स्मार्ट बैङ्क एपभित्र इमबोस्ड गरिएको सेवा हो । यसको माध्यमबाट ग्राहकले सजिलैसँग आफ्नो प्यान अपलोड गरी भर्चुअल आइकार्डका लागि आवेदन दिन सक्नेछन् । 

यसैगरी ग्राहकको अनुरोध अनलाइनबाट प्रशोधन गरिन्छ र कार्ड विवरणहरू (कार्ड नम्बर, म्याद समाप्ति मिति, सिसिटिभी)सहित मोबाइल बैङ्क एपभित्र भर्चुअल कार्ड तुरुन्तै जारी हुन्छ । भर्चुअल आईकार्ड (भारतीय रुपैयाँबाहेक) इ–कारोबारका लागि पनि प्रयोग गर्न सकिन्छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button