तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा तोरीको उत्पादन बढ्यो

चितवन । चितवनमा पछिल्ला वर्षहरूमा तोरीको क्षेत्रफल बढेसँगै तोरी उत्पादनमा पनि वृद्धि हुँदै गएको छ । कृषि ज्ञान केन्द्र चितवनले दिएको तथ्याकं अनुसार आर्थिक वर्ष ०७६/७७ मा  १२ हजार २ सय ५५ हेक्टर क्षेत्रफलमा तोरी लगाइएकोमा उक्त वर्ष १२ हजार १ सय ८० मेट्रिक टन तोरी उत्पादन भएको छ । यस्तै आर्थिक वर्ष ०७७/०७८ मा १२ हजार २ सय ६० हेक्टर क्षेत्रफलमा १२ हजार २ सय १८ मेट्रिक टन र ०७७/०७८ मा १२ हजार २ सय ७० हेक्टर क्षेत्रफलमा तोरी लगाइएकोले यो वर्ष तोरीको क्षेत्रफलमा थप वृद्धि भई उत्पादन पनि सोही अनुसार वृद्धि हुने अनुमान गरिएको छ ।  

‘अहिले मौसम अनुकूल छ, तोरी राम्रो फुलेको छ, तुषारो पनि परेको छैन ।’ कृषि ज्ञान केन्द्र, चितवनका  प्रमुख युवराज पाण्डेले भन्नुभयो । पाण्डेका अनुसार पछिल्ला वर्षहरूमा क्षेत्रफलसँगै तोरीमा कृषकहरूको आकर्षण पनि बढ्दै गएकोले पनि उत्पादनमा पनि वृद्धि हुँदै गएको पाण्डेले बताउनुभयो  । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, चितवनका सूचना अधिकारी माधव पौडेलले तोरीबालीमा आकर्षण सँगै पकेट र ब्लकका कार्यक्रम सञ्चालन गरिएकोले पनि तोरीको क्षेत्रफलसँगै उत्पादनमा वृद्धि भएको बताउनुभयो  । ‘तोरीको मूल्यवृद्धि सँगै माग पनि बढ्यो, उहाँले भन्नुभयो, अन्य खेती छोडेर कृषकले तोरी लगाउन थाले ।’ यो वर्ष माडीमा ब्लक कार्यक्रम चलाइएको र तोरीको फूल राम्रो फुलेको र परागसेचन राम्रो भएकोले तोरी उत्पादनमा वृद्धि हुने पौडेलको भनाई छ । 

यसभन्दा अघिका आर्थिक वर्षमा भने क्षेत्रफल घटबढ भएसँगै तोरीको उत्पादनमा पनि घटबढ भएको छ । जसअनुसार ०७४/०७५ मा १२ हजार २ सय ५१ हेक्टर क्षेत्रफलमा तोरी लगाइएकोमा  १२ हजार २ सय मेट्रिक, तोरी उत्पादन र आव ०७५/७६मा १२ हजार २ सय ६० हेक्टर क्षेत्रफलमा १२ हजार १२ हजार ३ तीन मेट्रिक टन तोरी उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ । 

तोरीको उत्पादकत्वमा उतारचढाव 

चितवनमा हरेक वर्ष लगाइँदै आएको तोरीबालीको उत्पादकत्वमा उतारचढाव आएको छ । प्रतिहेक्टर उत्पादन १ मेट्रिक टनको हाराहारीमा भए पनि मल तथा मौसमका कारण उतारचढाव आएको ज्ञान केन्द्रले जनाएको छ । 

आव ७४/०७५ मा प्रतिहेक्टर उत्पादकत्व ९ सय ९५ दशमलव ८३ केजी, ०७५/०७६ मा एक हजार ३ दशमलव २६, आव ०७६/०७७ मा ९ सय ९३ दशमलव ८८, ०७७/०७८ मा ९ सय ९६ दशमलव ५७ र चालु आर्थिक वर्षमा पनि १ हजार हुने अनुमान गरिएको छ । यो वर्ष गतबर्ष भन्दा १० हेक्टर क्षेत्रफलमा वृद्धि भएकोले १० मेट्रिक टन बढी तोरी उत्पादन हुने अनुमान गरिएको हो । ‘मौसम, मल, क्षेत्रफल, सिँचाइको पर्याप्तता अनुसार यसको उत्पादकत्वमा पनि असर पर्छ ।’ ज्ञान केन्द्र प्रमुख पाण्डेले भन्नुभयो  । 

चितवनमा तेलहन बालीमा तोरी, सस्र्यु, तिलबाली लगाइँदै आएको छ । यहाँ स्थानीय उन्नति, प्रगति लुम्ले १, प्रिति मोरङ जातको तोरी लगाइन्छ भने सस्र्युमा  कृष्णा पुसा र  पुसा बोल्ड जातको लगाइन्छ । चितवनमा खेती योग्य जमिनको करिब  २८ प्रतिशत क्षेत्रफलमा तेलहन बाली लगाइँदै आएको छ । 

बिशेषगरी नेपालमा चितवन लगायत  बाँके, बर्दिया, कैलाली, दाङ, कैलाली ,मोरङ, सुनसरी र खोटाङ जिल्लामा तेलहन बाली लगाइने गरिन्छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button