तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं। नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको तयारीका बारेमा छलफल गर्न आज स्थायी समिति बैठक बोलाएको छ ।  

आज बस्ने माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पुस ११ गतेदेखि १३ गतेसम्म तय भएको राष्ट्रिय सम्मेलन तयारीबारे छलफल गर्नेछ । 

बैठकले सो सम्मेलनमा सहभागी हुने प्रतिनिधि, दस्ताबेज, व्यवस्थापन लगायतका विषयमा छलफल हुने माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । 

माओवादी केन्द्रको यसअघि बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनका लागि  समसामयिक प्रस्ताव तयार पार्न नेता गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत र गणेश शाहको तीन सदस्यीय समिति गठन गरेको छ । 

यस्तै, नेता हितमान शाक्यको संयोजकत्वमा सम्मेलन व्यवस्थापन समिति र प्रवक्ता कृष्णबहादुर महराको संयोजकत्वमा प्रचारप्रसार उपसमिति समेत गठन गरिसकेको छ । 

राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि चयन गरी २०७८ मङ्सिर मसान्तभित्र नवीकृत सदस्यता नम्बरसहित प्रतिनिधिहरूको नामावली पठाइसक्न परिपत्र गरेको छ । 

मङ्सिर २५ र २६ गते हुने प्रदेश सम्मेलनको प्रतिनिधिहरूको नामावली आजसम्म प्रदेश निर्वाचन समितिमा बुझाउन परिपत्र गरेको माओवादी केन्द्रले यसअघि नै वडा र स्थानीय तहको सम्मेलन सम्पन्न गरिसकेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button