तपाईँ सुन्दै हुनुहुन्छः

चार दशक भारतीय जेलमा बिताएका दुर्गाप्रसादले पाउने भए क्षतिपूर्ति

झापा । झापा चार दशक भारतीय जेलमा बिताएका इलामको माई नगरपालिका– १० लुम्बकका दुर्गाप्रसाद तिम्सिनाले क्षतिपूर्ति रकम पाउने भएका छन् । कलकत्ता उच्च अदालतले ४० वर्षसम्म बिना सुनुवाइ भारतीय जेलमा राखिएका इलाम लुम्बकका दुर्गाप्रसाद तिम्सिनालाई क्षतिपुर्ति दिन बुधवार आदेश दिएको हो ।

न्यायाधीशद्वय प्रकाश श्रीवास्तव र राजर्षी भारद्वजको संयुक्त इजलासले बुधवार तिम्सिनालाई पाँच लाख भारतीय रुपैयाँ तत्काल क्षतिपूर्ति दिन पश्चिम बङ्गाल सरकारलाई आदेश दिएको छ । उच्च अदालतले उक्त रकम ६ साताभित्र तिम्सिनाको खातामा पठाइसक्न पनि भनेको उनको मुद्दा हेर्दै गरेका अधिवक्ता हिरक सिन्हाले जानकारी दिनुभयो ।

हत्या अभियोगमा ४० वर्षअघि पक्राउ परेका तिम्सिनालाई गत वर्ष चैतसम्म पश्चिम बंगालका विभिन्न जेलहरूमा राखिएको थियो । बिना सुनुवाइ जेलमा राखिएका तिम्सिनालाई कलकत्ता उच्च अदालतले गत वर्ष रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि रिहा भएका तिम्सिना गत चैतमा इलामको लुम्बाकमा रहेको घरमा फर्किएका थिए ।

तिम्सिनालाई जेलबाट छुटाउन महत्त्वपूर्ण भूमिका खेलेका पश्चिम बङ्गाल एमेच्योर रेडियो क्लबका सचिव अम्बरिश नाग विश्वासले अदालतको फैसला सकारात्मक भएको बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button