तपाईँ सुन्दै हुनुहुन्छः

१२ देखि १८ वर्ष उमेर समूहकालाई कोरोना विरुद्धको खोप लगाइने

काठमाडौँ । सरकारले देशभरका १२ देखि १८ वर्षसम्मका जनसङ्ख्यालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने तयारी गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको प्रेस ब्रिफिङमा डा.विवेककुमार लालले आगामी केही दिन भित्र देशभर १२ देखी १८ वर्ष उमेर समूहका जनसङ्ख्यालाई समेट्ने गरी खोप लगाउने अभियानको तयारी गरिएको जानकारी दिनुभयो । 

डा. लालले यो उमेर समूहलाई फाइजर र मोडना खोप लगाइने बताउनुभयो । यस्तै गर्भवती महिलाहरूलाई गर्भको पहिलो ३ महिनापछि खोप लगाउने अभियान समेत सञ्चालन गर्ने जानकारी दिनुभयो । 

यस्तै, देशभर आज २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

१२ हजार १ सय ७४ नमूनाको पिसीआर तथा एन्टीजेन परिक्षण गर्दा २ सय ८० जनामा संक्रमण पुष्टि भएको हो । 

आज ३ सय ६६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

आज सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु भएसँगै हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ४५ पुगेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button