तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै

रुपन्देही । दोस्रो चरणको कोरोना सङ्क्रमणमा कमी आएपछि बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढ्न थालेको छ । 

सङ्क्रमणमा कमी आएपछि भदौ १ गतेबाट खुला गरिएपछि हरेक महिना यहाँ आन्तरिक पर्यटक आउने सङ्ख्या बढ्न थालेको हो । 

पछिल्लो एक महिनामा लुम्बिनी अवलोकन गर्ने आन्तरिक पर्यटकको सङ्ख्या बढेर १ लाख र भारतीय पर्यटक १० हजार पुगेको लुम्बिनी विकास कोषका सूचना महाशाखा प्रमुख हरि राईले बताउनुभयो । 

तर तेस्रो मुलुकबाट आउने पर्यटकको सङ्ख्या भने न्यून रहेको छ । लामो समय थला परेको लुम्बिनीको पर्यटन क्षेत्र अहिले लयमा फर्किन थालेपछि यहाँका पर्यटन व्यवसायी पनि खुसी भएका छन् । 

कोरोना कहर सुरु भएसँगै लामो समय लुम्बिनीमा पर्यटक आगमन शून्य हुँदा व्यवसायीहरू निराश थिए भने कतिपय पलायन भएका थिए । कतिपय होटेल सञ्चालकले होटेल बिक्री गरेर हिँडेका थिए । 

तर, अहिले भने लुम्बिनीमा बिस्तारै पर्यटक आगमन बढ्न थालेको र यसले आशाको सञ्चार जगाएको लुम्बिनी होटेल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताउनुभयो । तर आन्तरिक पर्यटक मात्रै आएर उनीहरूको बसाई लम्बाउन नसेकेका कारण सोचेजस्तो लाभ व्यवसायीलाई नभएको उहाँले बताउनुभयो । 

लुम्बिनीमा चहलपहल बढेसँगै घुम्न आउनेहरू पनि उत्साही देखिएका छन् । अब सरकारले पर्यटन व्यवसाय उकास्ने गरी कार्यक्रम र योजना ल्याउनुपर्ने लुम्बिनी होटेल संघका पूर्व अध्यक्ष मिथुनमान श्रेष्ठले बताउनुभयो । कोरोना कहर हट्दै जान थालेपछि लुम्बिनी आउन थालेका पर्यटकहरूका लागि उनीहरूको बसाइ अवधि लम्ब्याउने खालका प्याकेज कार्यक्रम सरकारले ल्याउनुपर्ने व्यवसायीको भनाइ छ ।

लुम्बिनीमा अहिले शैक्षिक भ्रमणमा आउनेको सङ्ख्या बढेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो । सबै क्षेत्र खुला भएसँगै दैनिक तीनदेखि चार हजार पर्यटक भ्रमणका लागि आउने गरेको लुम्बिनी विकास कोषले जनाएको छ । 

लकडाउनमा सबै क्षेत्र ठप्प हुँदा लुम्बिनी विकास कोषले यहाँको सौन्दर्यीकरणका साथै भौतिक पूर्वाधार विकासमा उल्लेख्य प्रगति गरेको छ । त्यसैले पनि पछिल्लो समय लुम्बिनी आउनेहरूको सङ्ख्या बढ्न थालेको कोषको भनाइ छ ।

पर्यटन व्यवसायीहरूले सीमा क्षेत्रको सहजता, खोप लगाएका पर्यटकहरूलाई सहज लुम्बिनी आउने वातावरण तथा कर्मचारीलाई दिने भनिएको भ्रमण प्याकेज यथाशक्य छिटो कार्यान्वयन गर्न तीनै तहका सरकारलाई आग्रह गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button