तपाईँ सुन्दै हुनुहुन्छः

रक्तश्रावबाट सुत्केरीको मृत्यु

बाजुरा। जिल्लाको हिमाली गाउँपालिकामा उच्च रक्तश्रावबाट सुत्केरीको अकालमा मृत्यु भएको छ । हिमाली–४ तिथिचौरकी २१ वर्षीया गङ्गा चदारको रक्तश्रावका कारण मङ्गलवार अकालमा मृत्यु भएको हो ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लका अनुसार घरमै नवजात शिशुलाई जन्मदिएको केही समयभित्रै चदारको मृत्यु भएको हो । चदारका श्रीमान् बिनेले भन्नुभयो, “गङ्गा बिहान जङ्गलबाट घाँस काटेर आएकी थिइन् । आउने बित्तिकै पेट दुख्यो भनिन्, केही समयपछि सुत्केरी भइन् तर, मरेको शिशु जन्मियो ।”

चदार दम्पतीको पहिलो सन्तान छोरा छन् । गङ्गा गर्भवती भएको सात महिना भएको र स्वास्थ्य चौकीमा तीन पटक गर्भ जाँच गरेको स्वास्थ्य शाखाले जनाएको छ । जिल्लाका दुर्गम गाउँमा अझै स्वास्थ्य चौकीमा गर्भ जाँच गर्न नजाने तथा घरमै सुत्केरी हुने चलन विद्यमान छ । घरमै सुत्केरी भएकी गङ्गालाई रक्तश्रावपछि स्वास्थ्य चौकी नलगीकन झाँक्रीकहाँ लगिएको बताइएको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले स्वास्थ्य चौकीमा गर्भ जाँच तथा सुत्केरी हुन पालिकाले उच्च प्राथमिकता दिएको बताउनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button