तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसको १४औँ महाधिवेशन : काठमाडौँ आउन थाले प्रतिनिधि

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधि सङ्घीय राजधानी काठमाडौँ आउने क्रम सुरु भएको छ । 

पार्टीको १३औँ महाधिवेशन सम्पन्न भएको पाँच वर्ष नौ महिनापछि हुन लागेको १४औँ महाधिवेशनमा भाग लिन विभिन्न जिल्लाबाट प्रतिनिधि काठमाडौँ आउने क्रम सुरु भएको हो । 

जहानियाँ राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापनका लागि बनारसमा गठित अखिल भारतीय राष्ट्रिय काँग्रेसको सङ्गठित प्रयासको निरन्तरता र चेतनाको विस्तारले २००३ माघ १२ र १३ गते कलकत्ताको भवानीपुरमा सम्पन्न भेलाले नेपाली राष्ट्रिय काँग्रेसको स्थापना गरेको थियो । 

उक्त सम्मेलनलाई काँग्रेसको प्रथम राष्ट्रिय अधिवेशनका रुपमा लिइन्छ । उक्त अधिवेशनले तत्कालीन अवस्थामा टङ्कप्रसाद आचार्यलाई सभापति र विश्वेश्वरप्रसाद कोइरालालाई कार्यवाहक सभापति बनाएको थियो । 

पार्टी स्थापना भएको झन्डै आठ दशकपछि यही मङ्सिर २४ देखि २६ गतेसम्म १४औँ महाधिवेशन काठमाडौँमा हुँदैछ । 

नेपाली कांग्रेस बागलुङका पूर्व सभापति एवं गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेल महाधिवेशनमा भाग लिन आइतबार साँझ नै काठमाडौँ आइपुग्नुभएको छ । 

पार्टीको केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्न लाग्नुभएका मन्त्री कँडेल काँग्रेसलाई सशक्त पार्टी बनाउनका लागि आफूले उम्मेदवारी दिन लागेको बताउनुहुन्छ । “तीनै तहको निर्वाचनमा काँग्रेसलाई विजयी गराएर देशको विकास गर्नका लागि मैले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको हुँ,”– उहाँ भन्नुहुन्छ । 

गोरखा काँग्रेसका पूर्व सभापति हरिबहादुर घले पनि महाधिवेशनमा भाग लिन शनिबार राति काठमाडौँ आइपुग्नुभएको छ । दुई कार्यकाल गोरखा काँग्रेसको कुशल नेतृत्व गरिसक्नुभएका घले १४औँ महाधिवेशनमा अल्पसङ्ख्यक कोटाबाट केन्द्रीय सदस्य बन्ने दाउमा हुनुहुन्छ । घलले आजै गोरखा काँग्रेसका केन्द्रीय सदस्यको उपस्थितिमा उम्मेदवारी घोषणा गर्दै हुनुहुन्छ । 

काँग्रेसको प्रदेश अधिवेशन सम्पन्न भएसँगै चार दिनपछि सुरु केन्द्रीय महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधि काठमाडौँ आउने क्रम सुरु भएको हो । 

काँग्रेसले १४औँ महाधिवेशनका लागि आएका प्रतिनिधि बस्नका लागि गौशाला, ठमेल, सुन्धारालगायतका स्थानमा होटलसमेत बुकिङ गरिसकेको बताएको छ । 

मुलुक सङ्घीयतामा गएपछि काँग्रेसले पहिलो पटक वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रको महाधिवेशन गर्न लागेको हो । काँग्रेसको सात प्रदेशमध्ये ६ प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ । 

प्रदेश नं २ को अधिवेशन भने आन्तरिक समस्याका कारण हुन सकेको छैन । प्रदेश अधिवेशनबाट प्रदेश नं १ मा उद्धव थापा, वाग्मती प्रदेशमा इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशमा शुक्रराज शर्मा, लुम्बिनी प्रदेशमा अमरसिंह पुनमगर, कर्णाली प्रदेशमा ललितसिंह शाही र सुदूरपश्चिम प्रदेशमा वीरबहादुर बलायर सभापति निर्वाचित हुनुभएको छ । 

यस्तै ,६० भन्दा बढी जिल्लाको जिल्ला अधिवेशन समेत सम्पन्न भइसकेको छ । 

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे भोलिसम्म सबै निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न हुने बताउनुहुन्छ, “आइतबारसम्म विवाद रहेका सर्लाहीका चार र महोत्तरीको एक निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्ने गरी निर्वाचन समितिले काम गरिरहेको छ”, उहाँ भन्नुहुन्छ । 

काँग्रेसको महाधिवेशनमा चार हजार ७ सय हाराहारीमा महाधिवेशन प्रतिनिधिले भाग लिने संयोजक घिमिरेले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button