तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीमा पाँच हजार जना अट्ने हल तयार हुँदै

सिद्धार्थनगर । बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माणाधीन पाँच हजार जना अट्न सक्ने क्षमताको सभा हल तथा ध्यान केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ ।

लुम्बिनी तीर्थयात्री र पर्यटकको गन्तव्य त छँदैछ त्यसका अतिरिक्त सार्कजस्ता अन्य अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न गराउन सकिने गरी ध्यान केन्द्र तथा सभा हलको निर्माण थालिएको थियो । सो हल निर्माणको काम अन्तिम चरणमा पुगेको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले बताउनुभयो ।

उपाध्यक्ष मेत्तेयाले भन्नुभयो, “एक पटकमा यति धेरै सङ्ख्यामा मानिस बस्न मिल्ने हल बहुउपयोगी हुनेछ । यहाँ अन्तर्राष्ट्रियस्तरका ध्यान तथा सार्क स्तरीय सम्मेलन पनि सहजै गर्न सकिन्छ ।” अत्यन्तै आकर्षक स्वरूपमा बनाउन थालिएको सभा हल तथा ध्यान केन्द्रको छानो गोलाकार आकारमा डिजाइन गरिएको छ । भित्रपट्टि कमलको फूलको आकर्षक प्रतीक अङ्कित छ । हलमा ध्यान गर्नेहरू पलेटी मारेर बस्दा पाँच हजार जना सजिलै अट्ने क्षमता रहेको छ भने कुर्सी राखेर बस्दा आठ हजार अट्ने सदस्यसचिव सानुराजा शाक्यले बताउनुभयो । एक वर्ग मिटरमा एक कुर्सी अट्ने प्राविधिक विश्लेषण रहेको छ । आठ हजार ३०० वर्ग मिटरमा फैलिएको ध्यान केन्द्र रहेको छ ।

यसलाई सात डिग्रीसम्म तापक्रम तलमाथि हुनसक्ने इपिसएस प्यानल प्रयोग गरेर छानो छाइएको छ । उक्त ध्यान केन्द्र तथा सभा हलको जग निर्माण पनि विशेष डिजाइनमा गरिएको छ । १० मिटर गहिराइका १४० वटा पाइल फाउण्डेशन बनाइएको छ । उक्त फाउण्डेशन माथि एक वर्ग मिटर गोलाइको ४० वटा पिलर ठड्याएर छानो राखिएको छ । छानो पनि आकर्षक रहेको छ ।

उक्त हल तथा ध्यान केन्द्रको पहिलो चरणको आयोजनाअन्तर्गत अनक अर्घाखाँची, बाबुल जेभी कम्पनीले रु २८ करोड १३ लाख लागतमा निर्माण गरेको हो । उक्त लागतमा विभिन्न कारणले ११ प्रतिशत भेरियसन भएको थियो । दोस्रो चरणको काम रु ३३ करोड लागतमा निर्माणाधीन छ । दोस्रो चरणको काम भौतिक रूपमा ७० प्रतिशत सकिसकेको विकास कोषका योजना प्रमुख सरोज भट्टराईले बताउनुभयो ।

सभा हलको शिलान्यास विसं २०७५ वैशाख पूर्णिमामा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियो । सभा हलमा आठ वटा भाषामा एकैसाथ सुन्न सकिने गरी एकै पटक हेडफोन प्रयोग गर्न सकिने ध्वनि व्यवस्थापन पनि गरिने छ । ध्यान केन्द्र तथा सभा हलमा प्रवेश गर्ने ढोका पासवर्डले खोल्न सकिने गरी निर्माण हुदैछ । यसैगरी उक्त हलमा ५५ साना ढोका रहनेछन् । हलको वरिपरिको पर्खालमा गौतमबद्धको दुई फिट उचाइका ९७ वटा मूर्ति राखिने भएको छ ।

सभा हल तथा ध्यान केन्द्रको मुख्यद्धारमा छ फिट अग्लो बुद्ध मूर्तिसमेत राखिने छ । भिआइपी पार्किङ रहने र उक्त पार्किङमा ५० गाडी अट्ने क्षमता रहेको छ । हलको दायाँबायाँ भिभिआइपी लन तथा प्रतीक्षालयसमेत निर्माण भइरहेको छ । यसैगरी ६० जनाले एकैसाथ प्रयोग गर्न सक्ने गरी महिला पुरुषको अलग–अलग शौचालय निर्माण भइरहेको छ ।

लुम्बिनीमा हरेक वर्ष आयोजना हुने बुद्ध जयन्ती तथा विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनका लागि लाखौँ रकम खर्चेर अस्थायी हल बनाउने गरिएको छ । सन् २०१६ मा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा बुद्ध जयन्ती कार्यक्रम मनाउने गरी अस्थायी रूपमा हल निर्माण गरिएको थियो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली आउनुभएको थियो । तर अकस्मात् आएको हावाहुरी सहितको पानीले उक्त अस्थायी हल भत्कँदा कार्यक्रमसमेत प्रभावित हुन पुग्यो । त्यति नै बेला तत्कालीन प्रधानमन्त्री ओलीले लुम्बिनीमा एक स्थायी सभा हल र त्यहीँ रहने गरी ध्यान केन्द्र निर्माण गर्ने घोषणा गर्नुभएको र त्यसपछि हल निर्माणले गति लिएको कोषका वरिष्ठ प्रशासकीय प्रमुख ज्ञानिन राईले बताउनुभयो ।

गत बिहीबार लुम्बिनी आउनुभएका राष्ट्रपति भण्डारीले सो हलको निरीक्षण गर्नुभएको थियो । त्यस अवसरमा उहाँले राम्रो हल तयार हुन लागेकामा खुसी पनि व्यक्त गर्नुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button