तपाईँ सुन्दै हुनुहुन्छः

विमानस्थलका समस्या तत्काल समाधान गर्न मन्त्री आलेको निर्देशन

कास्की । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्या तत्काल समाधान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले निर्देशन दिनुभएको छ ।

शुक्रवार निर्माणाधीन विमानस्थलमा पुगेर मन्त्री आलेले रिठेपानी डाँडा कटान र वर्षाको समयमा विमानस्थलमा पानीको व्यवस्थापनमा देखिएको समस्या तत्काल समाधान गरेर विमानस्थलमा निर्माण कार्य समय सीमाभित्रै सम्पन्न गर्न  निर्देशन दिनुभएको हो । 

विमानस्थलमा आयोजना प्रमुख तथा सरोकारवालाहरूसँग निर्माण कार्य प्रगतिबारे बुझ्दै उहाँले रिठेपानी डाँडा कटानमा देखिएको अवरोध तत्काल हटाउन र विमानस्थलको सञ्चालन पूर्व नै पानीको निकासमा देखिएको समस्या समाधान गर्न निर्देशन दिनुभयो ।

मन्त्री आलेले विमानस्थल भित्रको पानीको व्यवस्थापन राम्रो नहुने बेलासम्म चिनिया ठेकेदार कम्पनीलाई रकम भुक्तानीको लागि सिफारिस नगर्न आदेश समेत दिनुभयो ।

विमानस्थल भित्रको पानीको समस्या सम्बन्धित ठेकेदार कम्पनी मार्फत गराउन र सिँचाइको नहरका कारण देखिएको समस्या तत्काल सम्बन्धित सरोकारवालाहरू सँग छलफल गरी समाधान गर्न उहाँले निर्देशन गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button