तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य चौकी भवन उद्घाटन

बर्दिबास । महोत्तरीको गौशालामा नवनिर्मित स्वास्थ्य चौकीको उद्घाटन गरिएको छ । गौशाला नगरपालिका—११ भरतपुर वीरेन्द्र बजारस्थित नव निर्मित स्वास्थ्य चौकीको भवनको उद्घाटन गौशालाका नगरप्रमुख शिवनाथ महतोले गर्नुभएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महतोले स्वास्थ्य क्षेत्रमा नगरवासीको अपेक्षा अनुसारको काम गर्न नसकेको स्वीकार गर्नुभयो । स्वास्थ्य क्षेत्रमा सुधारका लागि जति पहल गरे पनि सोचे अनुरूप नभएको उहाँले बताउनुभयो । ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि सुरु देखिनै हाम्रो प्रयास थियो । तर जनअपेक्षा अनुसारको राम्रो शिक्षा र स्वास्थ्यमा सुधार अझै भई सकेको छैन । गुणस्तरीय शिक्षा र मजबुत स्वास्थ्य क्षेत्रका लागि हामी अहिले पनि लागिपरेका छौँ,’ मेयर महतोले भन्नुभयो ।

स्थानीय राम औतार महतोले दान गरेको ५ कठ्ठा जग्गामा स्वास्थ्य चौकी निर्माण गरिएको गौशाला नगरपालिकाका स्वास्थ्य संयोजक रामप्रगास महतोले बताउनुभयो । स्वास्थ्य चौकी उद्घाटनसँगै केही दिनमै बर्थिङ सेन्टर सञ्चालनमा आउने संयोजक महतोले बताउनुभयो ।यसअघि सामान्य बिरामी पर्दासमेत त्यस भेगका स्थानीयहरू उपचारका लागि कठिनाइ भोग्दै आएका थिए ।

स्वास्थ्य चौकी निर्माणको लागी २०७३ सालमा २ करोड १३ लाखमा हेम सावित्री जेभी कम्पनीलाई ठेक्का दिइएको थियो । करिब पाँच वर्ष लगाएर स्वास्थ्य चौकीको निर्माण गरिएको हो ।उद्घाटन कार्यक्रममा नगरपालिकाकी उपमेयर आशा लामा, प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्रजंग थापा, स्थानीय नागरिक समाजलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button