तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा समस्या

सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीलगायत जिल्लाका सबैजसो स्थानमा नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । 

नेपाल टेलिकमका सेवाहरू इन्टरनेट तथा टेलिफोनको नेटवर्कमा सधैँ जसो समस्या हुँदा उपभोक्ताहरूले सास्ती हैरान भएको गुनासो गरेका छन् ।

सदरमुकाममा सञ्चालित एडिएसएल तथा फोरजी इन्टरनेट सेवाले काम नगर्दा इन्टरनेटको माध्यमबाट काम गर्नेका लागि समस्या भएको बताइएको छ । 

सदरमुकाममा इन्टरनेटले व्यवसायीहरूलाई हैरान बनाएको छ भने इन्टरनेटबाट प्रदान गरिने विभिन्न कार्यालयबाट सेवा लिन जनतालाई धेरै समय लाग्ने गरेको छ ।

एक जना सञ्चारकर्मी अनुज खड्काले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै टेलिकमले फेरजीको नाटक गरेर सिधा जनता लुट्ने काम गरिरहेको गुनासो गर्नुभएको छ । 

त्यस्तै, सोताङ गाउँपालिकाका हिरा नाछिरिङले पनि सेवा विनाको फोरजी सञ्चालन गरेर जनतालाई हैरानी बनाएको बताउनुभयो । 

लामो समयदेखि जिल्लाभरिको नेटवर्कले राम्रो काम नगर्दा सेवाभन्दा सास्ती बढी भएको गुनासो आइरहेको छ ।

नेटवर्कमा समस्या हुँदा अत्यावश्यक काम पर्दा वा विपत् आइपर्दा समेत सम्पर्क गर्न सम्भव नहुने नेचा सल्यान गाउँपालिका १ का सुवास राउतले बताउनुभयो । 

माथिल्लो क्षेत्रको पर्यटकीय क्षेत्रमा पनि सेवा उस्तै रहेको गुनासो छ । 

सेवाका बारेमा नेपाल टेलिकम सोलुखुम्बुका प्रमुख मोहम्मद अकबर अलीले भने कहिलेकाहीँ सिस्टममा समस्या आउने गरेकोले यस्तो भएको र आफूले सम्बन्धित निकायमा जानकारी गराएको बताउनुभयो । 

टेलिकम प्रमुखले उचित व्यवस्थापन नगर्दा विगत लामो समयदेखि सदरमुकामको इन्टरनेट र गाउँ गाउँमा राखिएको फोरजीले गुणस्तरीय काम नगरेको स्थानीयको आरोप छ । 

इन्टरनेट सेवा गुणस्तरहीन हुँदा महँगोमा निजी कम्पनीको सेवा लिनुपरेको गुनासो छ । अझ गाउँमा राखिएका फोरजीको टावरले काम नगर्दा समस्या भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button