तपाईँ सुन्दै हुनुहुन्छः

बाढी तथा डुबानबाट भएको क्षतिको तीनै तहका जनप्रतिनिधिद्वारा स्थलगत अनुगमन

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रमा बाढी तथा डुबानबाट भएको क्षतिको तीनै तहका जनप्रतिनिधिहरूले स्थलगत अनुगमन गर्नु भएको छ । 

भीमदत्त नगरपालिका वडा नम्बर १३ भित्रका बढी प्रभावित बस्तीमा प्रतिनिधिसभा सदस्य द्वय निरू देवी पाल र डा.दीपक प्रकाश भट्ट, सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मान बहादुर सुनार, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्ट लगायतको टोलीले बिहीबार स्थलगत निरीक्षण गरेको छ । 

भीमदत्त नगरपालिका वडा नम्बर १३ मा ४ सय घरधुरी डुबानबाट प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । 

बाढी तथा डुबानबाट विस्थापित नागरिकहरूलाई नजिकैका विद्यालयहरूमा राखी खाना बस्नको व्यवस्थापन गरिएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो । 

उहाँका अनुसार विपद् व्यवस्थापन समितिको बैठक बसी निर्देशिका बमोजिम थप राहत वितरण र क्षतिपूर्ति प्रदान गरिने छ । 

भीमदत्त नगरपालिका वडा नम्बर ११, १२ र १३ मा बाढीबाट प्रभावित नागरिकहरूको स्वास्थ्य परीक्षण गरी प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरू खटिएको भीमदत्त नगरपालिकाका प्रवक्ता हिमाल चन्दले जानकारी दिनुभयो । 

यसअघि तीनै तहका जनप्रतिनिधिहरू सहितको टोलीले बाढीग्रस्त तथा डुबान प्रभावित क्षेत्रमा गई उद्धार र व्यवस्थापनका कार्य गरेको थियो । 

आइतबार साँझदेखि अविरल रूपमा परेको बेमौसमी वर्षाका कारण कञ्चनपुरका विभिन्न स्थानमा समेत बाढी, डुबान, कटान तथा पटानले भौतिक क्षति तथा कृषकहरूले लगाएको धान बाली, तरकारी, दलहन, तेलहन र उखु बाली तथा पन्छीजन्य बस्तुहरू समेतको ठुलो क्षति भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button