तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार क्षेत्र जिम्मेवार र निष्पक्ष हुनुपर्छः राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार क्षेत्र जिम्मेवार र निष्पक्ष हुनुपर्ने बताउनुभएको छ ।

प्रेस काउन्सिल नेपालको ५२ औँ वार्षिकोत्सवको अवसरमा आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले जनताप्रति जबाफदेही सरकार नै लोकतन्त्रको सूचक रहेको बताउनुभयो । 

राष्ट्रपति भण्डारीले पत्रकार जगतले पनि आचारसंहिताको परिपालना गरी सत्य तथ्य समाचार सम्प्रेषण गरी जवाफदेहिता प्रकट गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस जगतले अरूलाई बाटो देखाउने काम गर्ने हुनाले पत्रकार जिम्मेवार हुनुपर्ने बताउनुभयो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले प्रेस काउन्सिल नेपाल नेपाली प्रेस जगतको अभिभावक संस्था भएकाले प्रेसलाई जिम्मेवार बनाउने भूमिका निर्वाह गर्न सुझाव दिनुभयो । 

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपाली प्रेसको बृहत्तर हितका लागि काउन्सिल क्रियाशील रहेको बताउनुभयो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले मुलुकको पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने वरिष्ठ पत्रकार भारतदत्त कोइरालालाई १ लाख ५१ हजार राशिको ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ र वरिष्ठ पत्रकार बद्री विनोद खनाल (प्रतीक)लाई रु एक लाख १० हजार राशिको ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ प्रदान गर्नुभयो ।

यसैगरी पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने पत्रकारहरूलाई पनि विभिन्न विधाका पुरस्कारहरू प्रदान गरिएको थियो ।

राष्ट्रपति भण्डारीले काउन्सिलबाट प्रकाशित इयर बुक २०७८, संहिता जर्नल र वार्षिक प्रतिवेदनको लोकार्पण गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button