तपाईँ सुन्दै हुनुहुन्छः

व्यावसायिक पशुपालनमा युवाहरूको आकर्षण बढ्दो

 

पोखरा  । पोखरा छोरेपाटनकी विमला पौडेलले अरबको खाडीमा वर्षौँ पसिना बगाउनुभयो  । 

घामको राप परिवारको तापले उहाँलाई आफ्नै देशमा बस्न समेत दिएन । त्यसमाथिको साहुको चर्को व्याजको ऋण तिर्न अरबको खाडीमा पसिना बगाउन उहाँ बाध्य हुनुभएको थियो । घर परिवार इष्ट मित्र र चाडपर्व सम्झँदा उहाँलाई विदेश जानुपर्दाका दिन सम्झेर आउँदा मनमा गाँठो परेर आउने उहाँ बताउनुहुन्छ ।  उहाँ अहिले पोखरा महानगरपालिका–१७ छोरेपाटनमा “लामतरा कृषि फार्म” सञ्चालन गरेर बस्नुभएको छ । विमला पौडेलको कृषि फार्ममा आजभोलि एक सयभन्दा बढी गाईभैसी रहेका छन्  । पौडेल भन्नुहुन्छ “विदेश जाँदा छोरा छोरीको धेरै पिर लाग्ने गरेको थियो, तर अहिले परिवार मिलेर कृषि काम गरेका छौँ रमाइलो पनि छ आम्दानी पनि वार्षिक ६० लाखभन्दा बढी हुने गरेको छ । ”

त्यस्तै, विदेश जान ठिक्क परेर बस्नुभएका पोखरा कास्कीकोटका किरण त्रिपाठी गएको वर्ष भएको लकडाउनका कारण विदेश नगई उहाँ अहिले परिवारसँगै कृषि तथा पशुपालन पेसामा लाग्नुभएको छ । 

पोखरामा पछिल्लो समय कृषि तथा पशुपालनमा युवाहरूको आकर्षण बढ्दै गएको देखिन्छ ।गत आर्थिक वर्षमा पोखरा महानगरपालिकामा सबैभन्दा धेरै वडा नं २१ मा कृषि तथा पशुपालनको व्यववसायीक फार्महरू दर्ता भएको तथ्याङ्कले देखाउँछ । 

पोखरा महानगपालिका वडा नम्बर २४, कास्कीकोटले “कृषि र पर्यटनको पूर्वाधार, कास्कीकोट समृद्धिको आधार” नारा नै  दिएर  कृषि क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको वडा अध्यक्ष ओमप्रसाद सुवेदी बताउनुहुन्छ । 

गत आर्थिक वर्षमा पशु सेवा केन्द्र पामेमा कृषि फर्म दर्ता गर्नेको सङ्ख्या पनि ह्वातै बढेको  छ । 
पोखरा महानगरपालिकाका १८, २३ र २४ नम्बर वडामा गत आर्थिक वर्ष २०७७/०७८ मा २ सय ५ वटा कृषि फर्म दर्ता भएको नायव पशु स्वास्थ्य अधिकृत जनार्दन पराजुलीले बताउनुभयो । 

पालिकाको २४ नम्बर वडाका अधिकांश युवा कृषितर्फ आकर्षित भएको तथ्याङ्कले देखाएको छ ।  

व्यावसायिक रुपमा गाईभैसी फार्म एक सय वटा, बाख्रा फार्म ४७ वटा, कालिज फार्म एक, बङ्गुर पालन चार वटा, माछा पोखरी ५ वटा सञ्चालनका लागि दर्ता भएको पराजुलीले बताउनुभयो । 

विदेशबाट फर्किएका युवा पछिल्लो समय गाई फार्म, बाख्रा पालन तथा माछा पालनमा रमाउन थालेका छन् ।  पोखरा २४ कास्कीकोटमा रहेको पञ्चलाई कृषि फार्मका सञ्चालक हर्क नेपालीले परम्परागत कृषि खेती प्रणालीले कृषकहरूको जीवनमा रूपान्तरण नआउने भएकाले व्यवसायी रुपमा आधुनिक कृषि खेतीतर्फ आकर्षण बढेको बताउनुभयो । 

“जबसम्म व्यवसायी कृषि खेती गरिँदैन, ‘तबसम्म किसानको आर्थिक आय स्रोत बढाउन सकिँदैन ।” उहाँ भन्नुहुन्छ, “यो क्षेत्रमा बलियो हुनको लागि कृषिलाई व्यवसायीकरण गर्नुपर्ने रहेछ अहिले बल्ल थाहा भयो ।”

कृषि नै मानव जीवनको जीवन रेखा भएकाले पोखरा महानगरपालिकाले व्यावसायिक रुपमा कृषि तथा पशुपालन गर्ने कृषकहरूलाई आर्थिक अनुदानका कार्यक्रमहरू सञ्चालन गर्दै आएको महानगरका प्रवक्ता धनबहादुर नेपाली बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ “वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई महानगरले कृषि क्षेत्रमा आर्थिक र प्राविधिक सहयोग गर्ने नीति नै बनाएको छ ।”

 वडा स्तरबाटै युवाहरूलाई कृषिमा अनुदान र तालिमको समेत व्यवस्था गरेको पोखरा महानगरपालिका– २४ वडा सदस्य अग्निधर त्रिपाठीले बताउनुभयो । 

महानगरले किसानहरूलाई विभिन्न सात चरणमा विभाजन गरी आर्थिक अनुदानदेखि कृषक परिचय पत्रसम्म दिने काम गरिरहेको महानगर पशु महाशाखा प्रमुख नवराज अधिकारी बताउनुहुन्छ  । 

कोरोनाका कारण वैदेशिक रोजगारीबाट फर्किएका अधिकांश युवाहरू अहिले व्यावसायिक कृषितर्फ आकर्षित भएका छन् । 

गत आर्थिक वर्षमा मात्रै २५ देखि ४० वर्ष उमेर समूहका युवाहरू हामी कृषि पेसा गर्छौ के के गर्नु पर्छ? भन्दै सल्लाहको लागि आएको अधिकारी बताउनुहुन्छ । 

महानगर पशु महाशाखाका अनुसार गत वर्षमा मात्र करिब ५ सय वटा व्यावसायिक कृषि फर्महरू दर्ता भएर सञ्चालनमा आएका छन् । 

पोखराका युवाहरू अहिले वैदेशिक रोजगारी मात्र विकल्प हैन आफ्नै माटोमा व्यावसायिक कृषि पनि विकल्पको व्यवसाय रहेछ भन्ने धारणा विकास भएको देखिन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button