तपाईँ सुन्दै हुनुहुन्छः

हावाले उडाएको विद्यालयको छाना मर्मत नहुँदा खुला आकाशमा बसेर पढ्दै विद्यार्थी

सल्यान  । जिल्लाको बनगाड कुुपिण्डे नगरपालिका –१ बेलखोलामा रहेको भैरवी निम्न माध्यमिक विद्यालयको हावाहुरीले छाना उडाएको ६ महिना बढी पुगिसक्दा समेत मर्मत हुन सकेको छैन ।

 २०७७ चैतमा आएको हावाहुरीले कोठे भवनको छाना उडाएको थियो । 

विद्यालयको आन्तरिक स्रोत नभएको र हावाले उडाएको भवन पनि जीर्ण भएकाले मर्मत भन्दा नयाँ भवनको लागि प्रयास गरी रहे पनि सफल हुन नसकेको प्रधानाध्यापक राम प्रसाद शर्माले बताउनुभयो । 

कक्षा ४ देखि ८ सम्म उक्त भवनमा पढाई हुँदै आइरहेको थियो । कोरोनाका कारण विद्यालय बन्द भएकाले समस्या नभए पनि अब विद्यालय खुले भने समस्या हुने उहाँको भनाई छ । 

६ महिनादेखि छाना नहुँदा भवन दिनप्रतिदिन जीर्ण बन्दै गएको प्रकाश बुढाले बताउनुभयो । वर्षाको पानीले गर्दा दार (काठ) कुहिँदै गएको र अझै मर्मत नभए भवन नै ढल्न सक्ने उहाँको भनाई छ । 

यस्तै गत जेठमा आएको हावाहुरीले कालीमाटी गाउँपालिका–४ छाप डाँडामा रहेको जनचेतना प्राथमिक विद्यालयको पनि अवस्था त्यस्तै रहेको छ । हावाले उडाएको ४ महिना भइसक्दा समेत मर्मत हुन सकेको छैन ।

दुई कोठे भवनको छाना मर्मतका लागि गाउँपालिकामा पत्र पठाए पनि मर्मतको काम अघि नबढेको प्रधानाध्यापक हिमलाल भण्डारीले बताउनुभयो । कक्षा कोठाको अभाव हुँदा १ देखि ३ सम्मका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपर्ने बाध्यता रहेको उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button