तपाईँ सुन्दै हुनुहुन्छः

सीमा नाका बन्द हुँदा बीरगंजका होटल तथा पर्यटन व्यवसाय धराशायी बन्दै

बीरगंज । झण्डै डेढ वर्षदेखि सीमा नाका बन्द हुँदा वीरगंजमा अर्बौँको लगानी रहेका होटल तथा पर्यटन व्यवसाय धराशायी बन्दै गएको छ । 

वीरगन्ज क्षेत्रका होटल तथा पर्यटन व्यवसायीहरूले सरकारले सीमा नाकालाई सहज नबनाएको कारण व्यवसायबाट हात धुनुपर्ने अवस्था निम्तने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

कोरोना संक्रमण फैलिने जनाउँदै सरकारले सीमा नाका बन्द गरेपछि वीरगन्ज नाका भएर आउने भारतीय पर्यटकहरूको आवागमन ठप्प हुँदा बीरगंजको होटल व्यवसाय धरापमा परेको होटल तथा पर्यटन व्यवसाय सङ्घ पर्साका अध्यक्ष हरि पन्तले बताउनुभयो । 

उहाँले वीरगन्ज सीमा नाकाबाट दैनिक सयौँ व्यक्तिहरूको ओहोरदोहोर भए पनि सरकारले औपचारिक रूपबाट नाका नखोल्दा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको बताउनुभयो । 

सरकारले कोरोना संक्रमण बढेको भन्दै २०७६ साल चैत ११ गतेदेखि वीरगन्ज नाका बन्द गरेको थियो । 

सो समयदेखि बन्द रहेको नाका अहिलेसम्म पनि खुल्न नसक्दा पर्यटन क्षेत्र अस्तव्यस्त बनेको पर्यटन व्यवसायीहरूको गुनासो छ । 

२० अर्बको लगानी रहेको वीरगन्जका होटल क्षेत्रमा भएको र पहिलो र दोस्रो लहरको कोरोनाका कारण आफूहरूले एक अर्ब जति क्षति बेहोर्न परेको पर्यटन व्यवसायी सङ्घ पर्साका उपाध्यक्ष रिचेन्द्र थापाले बताउनुभयो । 

अहिले बीरगंज तथा पर्सा जिल्लामा कोरोना संक्रमण लगभग शून्यको अवस्थामा रहेको छ । कुनै बेला हटस्पट बनेको पर्सामा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १३ जना मात्रै रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा.उदयनारायण सिंहले बताउनुभयो । 

उहाँले अब कोरोनाको कारण मात्रै देखाएर सीमा नाका बन्द गर्नुको अर्थ नरहेको बताउनुभयो । 

चाडबाड भित्रिने क्रमसँगै वीरगन्ज नाका भएर दैनिक उपभोग्य सामान खरिद गर्न रक्सौल जानका लागि चितवन, मकवानपुर, पोखरा, काठमाडौँ लगायतका स्थानबाट मानिसहरू आउने क्रम बढेको भए पनि तर सीमा आधिकारिक रुपमा नखुल्दा भारतीयहरू भने नेपाल आउन नपाएको वीरगंजका व्यवसायीहरूले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button