तपाईँ सुन्दै हुनुहुन्छः

सरकारद्वारा लुम्बिनी र गण्डकीका प्रदेश प्रमुखहरू परिवर्तनको सिफारिस

काठमाडौँ । सरकारले लुम्बिनी र गण्डकी प्रदेशका प्रमुखहरू परिवर्तनको सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले चितवनका पृथ्वीमान सिंह गुरुङलाई गण्डकी र अमिक शेरचनलाई लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । 


यसअघि गण्डकीमा सीताकुमारी पौडेल र लुम्बिनीमा धर्मनाथप्रसाद साह प्रदेश प्रमुख हुनुहुन्थ्यो । शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख हुनुहुन्थ्यो भने गुरुङ नेपाली कांग्रेस चितवनका पूर्व सभापति हुनुहुन्थ्यो । 


यसैगरी, बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेल र सदस्यमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बूलाई नियुक्त गरेको नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । 

file photo


बैठकले यही साउन २६ गतेदेखि लागू हुने गरी नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई  कायममुकायम प्रधानसेनापतिमा मुकरर गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापा उमेर हदका कारण यसै महिना सेवाबाट निवृत्त हुँदै हुनुहुन्छ । 


यस्तै, बैठकले बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गर्ने निर्णय पनि गरेको मन्त्री कार्कीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button