तपाईँ सुन्दै हुनुहुन्छः

अवैध १५ वटा भारतीय नम्बर प्लेटका सवारी साधन नियन्त्रणमा

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले राजस्व छली गरी अवैध रुपमा सञ्चालन गरिएका १५ वटा भारतीय नम्बर प्लेटका सवारी साधन नियन्त्रणमा लिएको छ । राजस्व छली गरेको सूचनाका आधारमा प्रहरीले बिहीबार दिउँसो १ बजे देखि ५ बजेसम्ममा बुटवलका विभिन्न स्थानबाट १५ वटा गाडीलाई नियन्त्रणमा लिएको हो ।


भारतबाट तरकारी तथा फलफूल लिएर आएका ती गाडीले भन्सार छलेर बुटवल हुँदै पूर्वतर्फ जाँदै गरेको अवस्थामा बुटवलको जित गढीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । प्रहरीले नियन्त्रणमा ल्याएका ती मालवाहक गाडी र त्यसका चालकलाई राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको थापाले जानकारी दिए । 


ती गाडीले भन्सारबाट छुट्दा कम तौल देखाएर बाहिरिएको प्रहरीले जनाएको छ । नियम विपरीत सञ्चालनमा ल्याई बढी तौल भएका १५ वटा सवारीसाधन, बिल भरपाई, मध्य पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलको धर्म काँटाको रसिद, सवारी दर्ता किताब र चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button