तपाईँ सुन्दै हुनुहुन्छः

त्रिवि र मदन भण्डारी फाउन्डेसनबिच छात्रवृत्तिमा समझदारी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका विभिन्न विभाग र मदन भण्डारी फाउन्डेसनबिच विद्यार्थीलाई अध्ययन र अनुसन्धानका लागि छात्रवृत्ति प्रदान गर्नेसम्बन्धी समझदारी भएको छ ।


फाउण्डेशनद्वारा आज आयोजित ‘जनताको बहुदलीय जनवाद र शिक्षामा अनुसन्धानको महत्त्व’  विषयक छलफल कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाको उपस्थितिमा फाउन्डेसनका सचिव पेम्बा लामा तथा विश्वविद्यालयका विभिन्न विभागका प्रमुखबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो । 


कार्यक्रममा मन्त्री श्रेष्ठले सरकारले फाउन्डेसनले ल्याउने उपर्युक्त योजना र प्रस्तावमा सहकार्य गर्न सक्ने बताउनुभयो । उहाँले खोज अनुसन्धानसँग सम्बन्धित विषयमा छात्रवृत्तिको व्यवस्था मिलाउने कार्यलाई अगाडी बढाएकोमा मदन भण्डारी फाउण्डेशनप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।


कार्यक्रममा मदन भण्डारी फाउन्डेसनका सामाजिक अभियान विभागका संयोजक सुशील प्याकुरेलले मदन भण्डारीको विचार जनताको बहुदलीय जनवाद र वामपन्थीप्रति आकर्षण बढ्दै गएको धारणा राख्नुभयो । 


त्रिविका भौतिक शास्त्रका प्रा. डा. विनिल अर्यालले नेपालको पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय विश्वमै रहेका विश्वविद्यालयमध्ये ८००–१००० श्रेणीभित्र पर्न सफल भएको र यो क्रम सुधारोन्मुख रहेको बताउनुभयो ।

कार्यक्रममा त्रिभुवन बिश्वबिध्यालयका प्रा. डा. खड्ग केसीले खोज अनुसन्धानमा शैक्षिक पाठ्यक्रम समावेश गर्न सकिने बताउनुभयो ।


कार्यक्रममा मदन भण्डारी फाउन्डेसनकी सचिव पेम्बा लामाले कोरोना महामारीको समयमा खट्नुभएका सुनिता सहकरी र बोमबहादुर गुरूङ्गलाई मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट सम्मानित गर्न लागिएको बताउनुभयो । फाउन्डेसनले यसअघि मह जोडी, महावीर पुन, धुर्मुस सुन्तली फाउण्डेशनलाई यो पुरस्कारबाट पुरस्कृत गरिसकेको उहाँले बताउनुभयो । सचिव लामाले मदन भण्डारी फाउन्डेसनको आयोजनामा भएको निबन्ध प्रतियोगिताका विजेतालाई असार १४ गते पुरस्कार वितरण गरिने पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button