तपाईँ सुन्दै हुनुहुन्छः

अनुदानको चामल ढुवानी नहुँदा जुम्लाका दुई वटा डिपो रित्तै 

जुम्ला खाद्य संस्थानको गोदाम राखिएको मौज्दात चामल । तस्बिर : सागर परियार ।

जुम्ला  । जुम्लाको  सिंजा गाउँपालिकाको धापा खाद्य डिपोमा खाद्यान्न नपुगेका सात महिना भयो ।

चामल ढुवानीको ठेक्का पाएको ठेकेदारले चालु आवको सात महिना बितिसक्दा पनि चामल नल्याउँदा धापा डिपो रित्तै रहेको छ । बजारको महँगो चामलभन्दा सस्तो र गुणस्तर पनि हुने भएकाले पछिल्लो समय अधिकांश स्थानीय खाद्यको चामल प्रयोग गर्छन् ।

तर यस वर्ष सिंजा क्षेत्रको एक मात्र धापा डिपोमा सरकारी अनुदानको चामल नपुग्दा त्यस क्षेत्रका तीन स्थानीय तहका हजारौँ नागरिक मर्कामा परेका छन् । चालु आर्थिकको स्वीकृत कोटा अनुसार एक हजार क्विन्टल चामल खाद्य डिपो कार्यालय धापामा पुराउनु पर्ने हो । तर, अहिलेसम्म पनि खाद्य डिपो कार्यालय धापमा चामल पुगेको छैन ।

त्यस्तै तिला गाउँपालिका–८ को जुम्लाकोट खाद्य डिपोमा पनि चामल पुगेको छैन । जुम्लाकोट डिपोमा पनि एक हजार क्वीइन्टल चामल पुराउनु पर्ने ठेकेदारले अहिलेसम्म ढुवानी नगर्दा समस्या भएको स्थानीय बताउँछन् ।

गत वर्ष समयमै चामल पुगेको जुम्लाको धापा र जुम्लाकोट डिपोमा यस वर्ष भने, अहिलेसम्म नपुगेको खाद्य संस्थान जुम्लाका प्रमुख तिलक सुनारले बताउनुभयो । तोकता गर्दा पनि विभिन्न कारण देखाउँदै ठेकेदारले ढिलाइ गरेपछि जुम्लाका २ वटा डिपो १÷१ हजार क्वीइन्टल सुर्खेत नेपालगन्जमै थन्किएका छन् ।

खाद्य डिपो कार्यालय धापा र जुम्लाकोटमा  खाद्यान्न ढुवानीका लागि बराल ढुवानी सेवा सुर्खेतले ठेक्का पाएको छ । ठेक्का सम्झौता भएको बढीमा १ महिना भित्र ढुवानी गर्नुपर्नेमा ७ महिना बितिसक्दा पनि ठेकेदारले डिपोमा खाद्यान्न पुगेको छैन ।

गाउँकै डिपोबाट खाद्यान्न लिएर जीवन गुजारा गर्ने सर्वसाधारण भने कठिनाइ भएको कनकासुन्दरीका दिपेन्द्र प्रसाद उपाध्यायले बताउनुभयो ।

उहाँले भन्नुभयो,“गाउँको डिपो ७ महिनादेखि रित्तै छ । खाद्यको चामल ल्याउन सदरमुकाम जाऊ दोब्बर खर्च लाग्छ । नजाऊ बजारको महँगो खान बाध्य छौँ ।”

साथै कर्णालीका ६ जिल्लाका ३० वटा डिपोमा यस वर्ष हालसम्म पनि सरकारी अनुदानको चामल पुगेको छैन ।

कर्णालीमा अनुदानको चामल ढुवानीको जिम्मा पाएका ढुवानी सेवाले सम्झौता गरेको बढीमा ३० दिनभित्र खाद्यान्न पठाउनु पर्ने भए पनि हालसम्म पुर्‍याउन नसकेको खाद्य व्यवस्था तथा व्यापार महाशाखा कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयका प्रमुख माधव मिश्रले बताउनुभयो ।

नियमित ताकेता गरिरहेको छाँै अबको केही समयमा पनि चामल नपुगे धरौटी जफत गरेर ठेक्का तोडिने मिश्रको भनाई छ ।

फागुन पहिलो साताबाटै चामल ढुवानी हुन्छ
जुम्लाका धापा र जुम्लाकोट डिपोमा चामल पुर्‍याउने जिम्मा पाएको बराल ढुवानी सेवाका ठेकेदार रमेश बरालले आउँदो फागुन पहिलो साताबाटै जुम्लामा चामल जुम्ला पुर्‍याउने प्रतिबद्धता गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “कालिकोट, मुगु र जुम्लाका शाखा कार्यालयमा ढुवानी भइरहेको छ । तर गाउँका डिपोमा भने पुगेको छैन । जुम्लाका धापा र जुम्लाकोट डिपोमा १÷१ हजार क्वीइन्टल चामल फागुनमा पुराउँछु ।”

ढुवानी गरेर आफ्नै कर्मचारी राखी डिपोबाट चामल बेच्नु पर्ने हुन्छ । एकातर्फ राम्रो कर्मचारी नभएको र अर्को असोज कार्तिकमा स्थानीय उत्पादनले नै धान्ने भएकोले खाद्यको चामल खपत नहुने देखिएपछि चामल नलिइएको बरालले उल्लेख गर्नुभयो ।

आउँदो फागुन पहिलो साताबाटै जुम्लाकोट डिपोका लागि नेपालगन्ज र धापा डिपोका लागि सुर्खेतबाट धमाधम ढुवानी सुरु गरेर कर्मचारी पनि राखेर स्थानीयलाई सहज रुपमा विक्री गर्ने उहाँको भनाई छ ।

त्यस्तै जुम्लाका सँगै कर्णालीका ६ जिल्लाका करिब ३० भन्दा बढी डिपोहरूमा यस वर्ष अहिलेसम्म चामल पुगेको छैन । जसका कारण स्थानीयहरू बजारको महँगो चामल किनेर खान बाध्य भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button