तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोच्च अदालतको फैसलालाई सबैले स्वीकार गरी अगाडि बढ्नुपर्छ : अध्यक्ष तिमिल्सिना

तनहुँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सर्वोच्च अदालतको अन्तिम फैसलालाई सबैले स्वीकार गरेर त्यसै अनुसार अगाडि बढ्नुपर्ने बताउनु भएको छ ।
अहिले देशमा प्रतिनिधि सभा पुनः स्थापना कि मध्यावधि निर्वाचन भन्ने पक्ष र विपक्षमा राजनीतिक दल मात्र नभएर सबै क्षेत्र विभाजित भएको भन्दै अध्यक्ष तिमिल्सेनाले सर्वोच्चको फैसला आएपछि त्यो अन्योल हट्ने बताउनुभयो ।
स्वतन्त्र न्यायपालिका र संविधानको व्याख्याताको रुपमा रहेको सर्वोच्च अदालतको अन्तिम फैसलालाई सबैले स्वीकार गरेर त्यसै अनुसार अगाडि बढ्न सकेमा सबैको हित हुने उहाँको भनाई थियो । ‘अदालतको फैसलालाई विरोध गर्नु र सडकबाट सच्याउँछौ भन्नु देशमा झन् अस्थिरता निम्त्याउनु हो’ उहाँले भन्नुभयो ।
तनहुँको देवघाट गाउँपालिका–५ क्युँदीमा नवनिर्मित सभा हलको बिहीबार उद्घाटन गर्दै अध्यक्ष  तिमिल्सिनाले सर्वोच्च अदालतको फैसलालाई सबैले स्वीकार गर्नुपर्ने पनि बताउनुभयो । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले फैसला गरेपछि देशको राजनीतिक अन्योल हट्ने उहाँले बताउनुभयो ।
अहिले सडकमा लागेका नारा र नेताहरूले एक अर्कालाई गरेको गाली गलौच र आरोप प्रत्यारोपले नागरिकलाई निराश बनाएको भन्दै अध्यक्ष  तिमिल्सिनाले  समृद्ध नेपालको अभियान गालीगलौजले नभई काम गरेर मात्र पुरा हुने बताउनु भयो ।
जनताको स्थिरताको चाहाना विपरीत काम गर्नेहरूलाई जनताले नै दण्डित गर्ने भन्दै उहाँले आफ्नो व्यक्तिगत स्वार्थ र महत्त्वाकाङ्क्षा भन्दा माथि उठेर देश र जनताको लागि काम गर्न राजनीतिक दलका नेताहरूलाई आह्वान गर्नुभयो ।
देवघाट मुलुककै प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र भएको हुँदा यहाँको विकासको लागि तीन वटै तहका सरकारहरू मिलेर काम गर्नुपर्ने अध्यक्ष तिमिल्सेनाले सुझाव दिनुभयो । यस क्षेत्रको विकास गर्न सके धेरै भन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने र त्यसबाट आर्थिक समृद्धि कायम गर्न सकिने उहाँको भनाइ थियो ।
कार्यक्रममा बागमती प्रदेशका सांसद विजय सुवेदीले देवघाट गाउँपालिका तनहुँ जिल्लामा पर्ने भए पनि बृहत् चितवन उपत्यकाभित्र देवघाटलाई समेत समेटेर बागमती प्रदेश सरकार मार्फत पूर्वाधार निर्माणको काम अघि बढाइने बताउनुभयो ।
सामाजिक न्याय सहितको पूर्वाधार विकासलाई स्थानीय सरकारले लक्ष्य लिनुपर्ने उहाँको भनाइ थियो ।
देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले गाउँपालिकामा पूर्वाधार निर्माणको कामले गति लिएको भन्दै समृद्ध देवघाट निर्माणको लागि आफूहरू केन्द्रित भएको बताउनुभयो ।
गण्डकी प्रदेश सरकारको ६० प्रतिशत र देवघाट गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा ९५ लाख ५४ हजार रुपैयाँको लागतमा सो सभा हल निर्माण गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङले जानकारी दिनुभयो ।
कोभिडको जोखिमको कारण देशैभर लकडाउन गरिएको समयमा गाउँपालिकाको समन्वयमा निर्माण सामग्री ढुवानी गरी सो सभा हल निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले जानकारी दिनुभयो ।
पाँच रोपनी क्षेत्रफलमा फैलिएको सो सभा हलमा ३ सय जनाको क्षमताको हल र दुई वटा साना कोठा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button