तपाईँ सुन्दै हुनुहुन्छः

वैशाख १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा निर्वाचन गर्न सिफारिस (मन्त्रिपरिषद् बैठकका निर्णयसहित)

काठमाडौँ । सरकारले दुई चरणमा सम्पन्न हुने आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो चरणमा २०७८ वैशाख १७ गते प्रदेश नं. २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश अन्तर्गतका ४० वटा जिल्लाहरूमा र दोस्रो चरणमा २०७८ वैशाख २७ गते प्रदेश नं. १, बागमती प्रदेश र कर्णाली प्रदेश अन्तर्गतका ३७ वटा जिल्लामा गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ ।
हालैका मन्त्रीपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले तोकिएकै मितिमा निर्वाचन हुने र त्यसका लागि प्रधानमन्त्रीले सरकारका तर्फबाट निर्वाचनको तयारीमा जुट्न निर्वाचन आयोगमा स्वयं नै गएर जानकारी गराउनु भएको बताउनुभयो ।
सरकारले तामाङ तथा शेर्पा समुदायले मनाउने पर्व ग्याल्पो र सोनाम ल्होसारको उपलक्ष्यमा माघ ३० गते शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
यसै गरी सरकारले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशकको पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।
सञ्चार मन्त्री गुरुङले सरकारले शिक्षा (नवौं संशोधन) नियमावली, २०७७ स्वीकृति गर्ने निर्णय गर्नुसँगै माध्यमिक शिक्षा (कक्षा १०) को एसइई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साबिक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने निर्णय गरेको जानकारी दिनुभयो ।
नेकपा पार्टी आधिकारिकताका सम्बन्धमा सञ्चारकर्मीको एक जिज्ञासामा सञ्चार मन्त्री गुरुङले प्रधानमन्त्री के पी शर्मा ओली अध्यक्ष रहेको नेकपालाई निर्वाचन आयोगले नेकपा भनेर परिभाषित गरी सकेकाले के पी ओली नेतृत्वको नेकपा नै आधिकारिक भएकाले भ्रममा नपर्न सबैमा आग्रह गर्नुभयो ।
सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार मन्त्री गुरुङले कोभिडका जोखिममा पनि त्यस क्षेत्रमा काम गरिरहेकाहरूको सराहना गर्दै कोभिडलाई सबैले मिलेर पराजित गर्न सकिने बताउनुभयो ।

२०७७ माघ १९ गते बसेको मन्त्रिपरिषद्को निर्णयहरु

२०७७ माघ २६ गते बसेको मन्त्रिपरिषद्को निर्णयहरु

प्रतिक्रिया राख्नुहोस्

Back to top button